Logo

ज्यूँदै रहेका बच्चालाई मरेको भनेपछि अस्पतालमा तोडफोड



Spread the love

राजविराज – सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार तोडफोड गरिएको छ । रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच्चा ज्यूँदै फेला परेको भन्दै आक्रोशित स्थानीयवासीले तोडफोड गरेका हुन् ।सर्पदंशमा परेका बच्चालाई उपचारका लागि ल्याए पनि सिधै मृत घोषणा गरी शव परीक्षण कक्षमा राखेको र पछि बच्चा ज्यूँदो फेला परेको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको अस्पताल प्रशासनले जनाएको छ । मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल आएर तोडफोड गर्दै नाराबाजीसमेत गरेका छन् । तोडफोड र नाराबाजीका कारण अस्पतालको आकस्मिक कक्षको सेवा पूर्णतः प्रभावित भएको थियो । प्रदर्शनकारीले अस्पतालको आकस्मिक कक्षका श्यया, कुर्सी, कम्प्युटर, टेबलसहित झ्यालका सिसासमेत फुटाइएको अस्पतालका सुपरिडेन्ट चुमनलाल दासले बताए । “हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास भन्छन्, “पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दासमेत बच्चाको मृत्यु भइसकेको थियो ।” उनले चिकित्सकको टोली राम्रोसँग काम गर्न खोज्दा पनि यसरी आक्रमण भएपछि चिकित्सकको मनोबल कमजोर भएको बताए । बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै शव परीक्षण गराइदिन प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण कक्षमा लगिएको उनले जानकारी दिए । यद्यपि ज्यूँदै भनिएका बालकलाई उपचारका लागि सिरहाको चोहर्बास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिए पनि त्यहाँ पनि मृत घोषणा गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्