Logo

सिरियाका जनता हामीबाट पनि मारिएका छन- अमेरिका



Spread the love

एजेन्सी- आतङ्ककारी समुह आइएस विरुद्धको लडाइँमा ईराक र सिरियाली क्षेत्रमा मात्र हजारौँ सर्वसाधारणको ज्यान गएको खबर आइरहँदा पनि अमेरिका, रुस, फ्रान्स लगायत देशहरुले यसलाई अस्वीकार गर्ने गरेका छन् । अमेरिकाले मात्र चार वर्ष लामो युद्धमा कूल ३० हजारपटक हवाई प्रहार गरिसकेको बताइएको छ । तर यस क्रममा ज्यान गुमाएका सर्वसाधारणबारे आरोप लागिरहँदा पनि उनीहरु चुप लागिरहने गरेको एम्नेस्टी इन्टरनेस्नलकी वरिष्ठ खोजकर्ता डोनेटेला रोभेराले द इन्डिपेन्डेन्टसँग बताएकी हुन् ।

तर बिहीबार भने अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो गलती स्वीकार गर्दै हमलाका क्रममा ईराक र सिरियामा करिब ११०० सर्वसाधारणले ज्यान गुमाएको बताएको हो । यसरी पेन्टागनले आफ्नो कमजोरी स्वीकार गरेपनि उनीहरुले दाबी गरे भन्दा अझै धेरै नागरिकहरुको ज्यान गएको अन्तराष्ट्रिय संघसंस्थाहरुको आरोप छ । पेन्टागनले भन्यो, ‘हामीले आइएसमाथि प्रहार गर्दा सर्वसाधारण र संरचनामा पुग्ने क्षतिलाई कम गराउन लगातार प्रयास गरिरहेका छौँ ।’ तर आलोचकहरुका अनुसार अमेरिकी सेनाले अन्जानमा मानिसहरुको ज्यान लिएपनि तिनीहरुको अवस्थाबारे एकदम कम ध्यान दिने गरेको छ । उनीहरुले सतही रुपमा अनुसन्धान गर्ने र घटनास्थल पुगेपनि बाँचेका र प्रत्यक्षदर्शीहरुसँग नभेट्ने गरेको पाइने रोभेराले बताइन् ।

यति मात्र नभएर संयुक्त राष्ट्र संघ लगायत अन्य संस्थाहरुले गरेको अनुसन्धानपछि पत्ता लगाइएका घाइते र मृतकबारे विभागलाई बताउँदा समेत उनीहरुले अस्वीकार गर्ने गरेको तर अहिले महिनौँपछि आएर भने चुपचाप आफ्नो गलती स्वीकार गर्नु कुनै अर्थ नहुने रोभेराको भनाइ छ । उनका अनुसार सिरिया वा ईराकमा ठुल्ठुला भवनमा बम खसालिए पनि त्यसबारे कसैले अनुसन्धान वा खोजी गर्ने गरेको छैन । यस्तोमा पछिल्लो समय शक्तिशाली देशका सेनाहरुले जथाभावी प्रहार गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ । यसलाई उनीहरुको लापरबाही वा खराब बानी वा मानिसबाट अन्जानमा हुने गलती, जे बताइएपनि त्यसको परिणाम निर्दोष परिवार भोग्न बाध्य हुने उनी बताउँछिन् ।

तरपनि अमेरिकाले केही हदसम्म आफ्नो गलती स्वीकार गर्नुलाई सकारात्मक मानिएको छ । उता अन्य देशहरुले भने अझै यस विषयमा लापरबाहीपूर्वक काम गरिरहेको पाइन्छ । जस्तै सिरियाली सरकारका तर्फबाट लडिरहेको रुसी सेनाले संयुक्त राष्ट्र संघको आदेशमा उद्धारकर्मी, स्वास्थ्यकर्मी लगायतका मानिसबारे राम्रो जानकारी राख्दै आएको छ तर यसमा जनतालाई पुगेको असरलाई भने उनीहरु लुकाउने गरेको बताइएको छ । त्यस्तै बेलायत र फ्रान्सले पनि थोरै सङ्ख्याको मानव क्षति मात्र उल्लेख गर्ने वा कसैलाई हानि नपुगेको दाबी गर्ने गरेको बेलायतस्थित युद्ध निगरानी संगठनका प्रमुख क्रिस वुड्सले बताए । यसरी उनीहरुको यो प्रवृत्तिले सरकारलाई आफ्नो सेनाको कमी कमजोरीबारे अध्ययन गर्नबाट बञ्चित गराउने हुँदा उनीहरुले आफ्नो गलतीबाट कहिल्यै पाठ सिक्न नसक्ने भएको रोभेराको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्