Logo

निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग



Spread the love

१९ असोज, कलैया – बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने बारा वन प्राविधिक सङ्घले माग गरेको छ ।

कलैयामा आज पत्रकार सम्मेलन गरी विभिन्न बहानामा अन्तर्राष्ट्रिय विमानस्थल बारामा बनाउन नदिनका लागि चलखेल भइरहेको हुँदा त्यसप्रति सचेत र जवाफदेही हुन सरोकारावाला सबैलाई सङ्घले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले ८ हजार ४५ हेक्टर वन क्षेत्र छुट्याएकोमा सोमध्ये १ हजार ५ सय ५० हेक्टरमा लगाइएको रुख कटान गर्दा विमानस्थलको भौतिक संरचना निर्माण हुने भएको हुँदा त्यसलाई मध्यनजर गर्दै बाँकी रहेको वनक्षेत्र काठ र दाउरा आपूर्तिका लागि राख्नुपर्ने वनस्पति विभागका पूर्वमहानिर्देशक राजदेवप्रसाद यादवले विचार व्यक्त गरे ।

अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा धेरै रुख कटान गर्दा भविष्यमा काठ र दाउराको आपूर्तिमा समस्या आउनुको साथै वातावरणमा प्रतिकूल असर पर्ने र जैविक विविधतामा समेत असर पर्ने सम्भावना उत्तिकै रहेको पूर्वमहानिर्देशक यादवको भनाइ छ ।

पर्सा वन्यजन्तु आरक्षदेखि सर्लाहीको मूर्तियासम्म हात्तीको वासस्थान रहेको हुँदा पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ अधिकतम वनलाई क्षति नगरी विमानस्थल बनाउँदा प्रभावकारी हुने वन प्राविधिक सङ्घका केन्द्रीय सहअध्यक्ष रमानन्दप्रसाद कुर्मीले बताए ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले देशका ९ ठाउँमा अध्ययन गरेको थियो । बाराका सिमरा, निजगढ, सर्लाहीका मूर्तिया, काभ्रेको पाँचखाल, विराटनगर लगायतका ठाउँमा अध्ययन गर्दा टोलीले अन्तर्राष्ट्रिय विमानस्थलका लागि हरेक हिसाबले निजगढदेखि पश्चिम, पसाहा खोलादेखि पूर्वको जङ्गल क्षेत्रमा उपयुक्त हुने सुझाव सरकारलाई दिएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत पर्ने टागिया बस्तीको क्षेत्रमा कृषि वन प्रणाली व्यवस्थापनका लागि राज्यले खटाएको कामदारबाट ५०० हेक्टर जमीन अतिक्रमण गरिएको हुँदा उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने वन प्राविधिक सङ्घका अमर यादवले बताए ।

बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बनाउनको लागि सरोकारवाला सबै निकायलाई आग्रहसमेत गरिएको थियो । बारा जिल्लामा ४७ हजार ८२ हेक्टर वन क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्