Logo

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर



Spread the love

२२ असोज, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा रु ३० हजार घुस मागेको अभियोग उनीमाथि लागेको छ । यस्तै, आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु ५ हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

त्यस्तै, आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु १ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उनीहरुले घुस मागेको आयोगले अभियोग लगाएको छ ।

यसैगरी, आयोगले नापी कार्यालय, सर्लाहीमा कार्यरत अमिन किसुनदेव मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अंशबन्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग अमिन मण्डलले रु ९ हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै, आयोगले आजै इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक रामबाबुप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल भारत सीमाबजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभनमा सेवाग्राहीसँग रु ५ हजार घुस मागेको अभियोग उनीमाथि लागेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्