Logo

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता



Spread the love

२२ असोज, काठमाडौँ – पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ ।

पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिए ।

आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ । “हामीले प्रतियोगिता सञ्चालनका लागि आइसिसीमा पत्र पठाएका थियौँ, आइसिसीले हामीलाई मान्यता दिएको छ”, आइसिसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भने ।

पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको लामाको भनाइ छ ।

यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी, विराटनगर टाइटन्स टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् ।

एक्सपर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छने । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्