Logo

भारबहन क्षमता परीक्षण सफल : जनकपुर आयो रेल



Spread the love

२५ असोज, धनुषा – बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आए सँगै जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार बहन क्षमताको परीक्षण सफल भएको रेल विभागका इन्जिनियर अमन चित्रकारले जानकारी दिए । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन्।

परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियरले बताएका छन् । यसअघि जनकपुरदेखि जयनगरसम्म न्यारोगेजमा रेल चलाइएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भारतीय नाकासँग जाेडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झाैता भएकाे र सोही सहमतिअनुसार हाल भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल मार्ग निर्माणको काम भइरहेको छ ।

भारत बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारीअनुसार काम भइरहेको छ । तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड निर्माण गरेर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना बनएको छ । जग्गा प्राप्तिको प्रक्रिया सकिएलगत्तै बर्दिवास खण्डमा पनि रेल मार्ग निर्माण सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्