Logo

कामपाद्वारा १० हजार बिरुवा रोपिने



Spread the love

२५ असोज, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सरकारी सङ्घसस्थासहित विभिन्न दश स्थानमा १० हजार बोटबिरुवा वृक्षरोपण गर्ने भएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन गरी यसअघि दुई हजार ७०० बोटबिरुवा रोपण भइसकेको जानकारी दिँदै कामपालाई हरियाली बनाइने लक्ष्य रहेको बताए । उनले भने,“ कामपाभित्र रहेका सबै सरकारी कार्यालय, सरकारी विद्यालय र निजी विद्यालय सबै स्थानमा बोटबिरुवा रोप्ने कार्य गरिनेछ । रोपिएका सबै बिरुवाहरुको संरक्षणका लागि कामपाले गर्न सम्भव नहुने भएकाले जुन जुन स्थानमा रोपिएको छ, सोही सोही स्थानका सम्बन्धित सङ्संस्थाले व्यवस्थापन गर्नुपर्नेछ ।”

सँगै केही सार्वजनिक जग्गामा पनि बोटबिरुवा रोपी हरियाली बनाइने शाक्यले जानकारी दिए । उनले काठमाडौँ महानगरलाई धूलो धुवाँरहित बनाउनका लागि आफूले कार्यभार सम्हालेको एक हप्ताबाटै ‘क्लिन द सिटी’अभियान शुरु गरिएको जानकारी दिँदै सरसफाइ थप प्रभावकारी बनाउनका लागि केही दिनअघि पाँच ठूला यन्त्र र आगामी मङ्सिरदेखि पाँच बु्रमर(यान्त्रिक कुचो) प्रयोगमा आउने बताए । प्रत्येक वडामा रहेको सार्वजनिक जग्गाको पहिचान गरी ३२ वटै वडामा वृद्धाश्रम र बालबालिकाका लागि मनोरञ्जन उद्यान निर्माण गरिने भएको छ । अव्यवस्थित रुपमा जहाँतहीँ फालिएको ५४ गाडी तार व्यवस्थापन गरिएको छ ।

रु ६० करोडमा २ सय १७ पुराना आयोजना र रु ७ करोडमा ४८ नयाँ योजना सम्पन्न गरिएका छन् । महानगरका भूकम्पपीडित सात हजार १ सय ७१ मध्ये पहिलो किस्ता ५ हजार ८ सय ७० र दोस्रो किस्ता १ हजार १ सय १९ जनाले प्राप्त गरिसकेको जनाइएको छ । “यसअघि कामपा महिला, बालबालिका र समाजकल्याण विभागबाट वितरण गरिँदैआएको ज्येष्ठ नागरिक परिचयपत्र कामपाको प्रत्येक वडा कार्यालयबाट वितरण गर्न शुरु गरिएको छ”, शाक्यले भने ।

शिक्षा ऐन र नियमावली जारी गरिएको, आधारभूत कक्षासम्मको परीक्षाको नतिजा एक हप्ताभित्र अनलाइनबाट प्रकाशन गर्ने व्यवस्था मिलाइएको, काठमाडौँ उपत्यकाको सडक चापको समस्यालाई केही सहज बनाउनका लागि कामपाको सहकार्यमा साझा बस थपिएको पनि उनले थपे ।

आफ्नो कार्यकालमा काष्ठमण्डपको पुनःनिर्माण शुरु, रानीपोखरी पुनः निर्माण प्रक्रिया शुरु र नयाँ सडकमा स्मार्ट पार्किङ निर्माण तयारी भइसकेको उनले जानकारी दिए । जथाभाबी छाडा छाडिएका चौपाया पनि व्यवस्थापनको काम शुरु गरिसकिएको उहाँले बताउनुभयो । “सबै काम एकै पटक गर्न सकिँदैन विस्तारै काम हुँदैछ, कामपामा काम भएन भन्दा पनि सबैले आआफ्नो स्थानबाट सहयोग गरौँ, सोचेजस्तो सुन्दर महानगर अवश्य हुनेछ”, शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस्