Logo

कामपाका भित्री सडकलाई प्राथमिकता



Spread the love

काठमाडौँ, १९ कात्तिक – खाल्डाखुल्डीका कारण सर्वसाधरणले सास्ती व्यहार्ने परेपछि काठमाडौँ महानगरपालिकाले भित्री सडक सुधारलाई प्राथमिकता दिन थालेकोे छ ।

कतिपय सडक कालोपत्र गर्ने र कतिपयमा ढुङ्गा वा इँटा छाप्ने काम धमाधम भइरहेको महानगरपालिकाले जनाएको छ । नेपाल सरकार र जनप्रतिनिधिले भित्री सडक सुधारका लागि चासो देखाएपछि सडक सुधारको काम अघि बढाइएको हो । कम चौडाइका सडक विस्तार र कालोपत्र एकसाथ भइरहेको छ ।

केही समय पहिले भित्री सडकको अवस्था खराब रहेकमा अहिले सुधारको क्रममा रहेको महानगरपालिका अन्तर्गत भौतिक पूर्वाधार महाशाखाका प्रमुख राम थापाले बताए । गत आर्थिक वर्षमा भित्री सडकका लागि५८ योजना थिए । यी योजना अन्तर्गत झण्डै ३० किलोमिटर सडकमा कालोपत्रेलगायत सुधारको काम भइरहेको छ । उनले भने, “एक वर्षमा सक्ने योजना भएपनि कतिपय काम अहिले पनि चालु छ ।”

वडा नम्वर ४, ६, १४, १६ र ३२ मा भौगोलिक हिसाबले ठूला छन् । ती वडामा सडकलगायत भौतिक पूर्वाधारको विकास गर्न बाँकी छ । अहिले सञ्चालनमा रहेका योजनामा सकेसम्म सबै वडालाई समेट्ने गरेर समानुपातिक योजना बनाइएको छ । प्रमुख थापाले भने, “बढी धुलो र हिलोले गर्दा स्थानीयवासीले बढी दुःख पाएका सडकलाई हामीले प्राथमिकतामा पारेका छौँ ।” जनप्रतिनिधि आएपछि सडक निर्माण र कालोपत्रका लागि केन्द्रित भएको उनले बताए ।

गत आवमा काम शुरु भएको सडकका योजनामध्ये जम्मा २५ प्रतिशत काम बाँकी रहेको प्रमुख थापाले जानकारी दिए । सडक विस्तारका लागि अर्थ मन्त्रालयले गत आवमा रु ७५ करोड महानगरपालिकालाई दिने सहमति भएकामा अहिलेसम्म रु २५ करोड मात्रै दिएपनि बाँकी कामलाई नरोक्ने उनले बताए । कामपाले आव २०७५÷७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट विनियोजन गरेकामा भौतिक पूर्वाधार निर्माण का लागि रु चार अर्ब छ करोड बजेट छुट्याइएको थियो । कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक भएकामा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्