Logo

१९ लाखले प्रयोग गर्छन् फोरजी



Spread the love

मोबाइलमा चौथो पुस्ताको इन्टरनेटको रूपमा परिचित ‘फोरजी’ सेवा शुरू भएको डेढ वर्ष पार हुँदा यसका १९ लाख प्रयोगकर्ता पुगेका छन् । विश्वव्यापी रूपमा हाल अत्यधिक प्रचलनमा रहेको फोरजी प्रयोग गर्नेको सङ्ख्या १९ लाख २८ हजार ८५१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो सङ्ख्या गत भदौसम्मको हो ।

हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइलमा फोरजी सेवा उपलब्ध गराउँदै आएका छन् । फोरजी सेवा विस्तारमा विदेशी लगानीको एनसेल तुलनात्मक रूपमा आक्रामक देखिएको छ । २०७४ जेठ १८ गते फोरजी सेवा शुरू गरेको एनसेलका १२ लाख ४४ हजार फोरजी प्रयोगकर्ता छन् ।

नेपालमा फोरजी सेवा शुरू गरेको श्रेय पाएको सरकारी लगानीको नेपाल टेलिकम भने ग्राहक विस्तार प्रतिस्पर्धामा केही कमजोर देखिएको छ । २०७३ पुस १७ गते नेपालमै पहिलोपटक टेलिकमले फोरजी सेवा शुरू गरे पनि हालसम्म कम्पनीका ग्राहक छ लाख ३५ हजार मात्र पुगेको छ ।4 G
त्यस्तै, निजी क्षेत्रको लगानी रहेको स्मार्ट सेलका फोरजी प्रयोगकर्ता ४८ हजार ३६९ पुगेको छ । स्मार्टले गत वर्षको कात्तिक १४ गते फोरजी सेवा शुरू गरेको थियो ।

नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी सेवा काठमाडौँ उपत्यका र पोखरामा मात्र सीमित छ । एनसेलले भने करिब दुई दर्जन सहरमा सेवा विस्तार गरिसकेको छ । फोरजी सेवा विस्तारको योजना अघि सारेको टेलिकमको लामो समयदेखि टेन्डर प्रक्रिया नै रोकिएको थियो ।
देशैभर फोरजी एलटीई विस्तारका लागि टेलिकमले दुई फरक टेन्डर आह्वान गरेको थियो । करिब २५ अर्ब रुपियाँ लगानीसहितको उक्त टेन्डर हाल मूल्याङ्कनको क्रममा रहेको टेलिकमले जनाएको छ । त्यस्तै, स्मार्ट सेलले पनि देशका विभिन्न ठाउँमा फोरजी विस्तार गर्ने योजनाअनुसार पूर्वाधार निर्माणको क्रमलाई अघि बढाइरहेको जानकारी दिएको छ । एनसेल भने सन् २०१९ भित्र देशका ४० सहरमा फोरजीको पहुँच पु¥याउने योजनाअनुसार अघि बढिरहेको छ । फोरजीबाहेक नेपाल टेलिकमका थ्रीजी इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या भने एनसेलको तुलनामा केही बढी छ । प्राधिकरणका अनुसार टेलिकमका ५१ लाख १३ हजार थ्रीजी प्रयोगकर्ता छन् ।

त्यस्तै, एनसेलका थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ४८ लाख ५५ हजार रहेको तथ्याङ्क छ । हाल यी दुई कम्पनीले मात्र थ्रीजी सेवा उपलब्ध गराइरहेका छन् । दुवैको गरेर थ्रीजी प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । प्राधिकरणका अनुसार मोबाइलसहित अन्य विभिन्न प्रविधिबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या एक करोड ५५ लाख नाघेको छ । यो कुल जनसङ्ख्याको ५३.१२ प्रतिशत हो । (रासस) 

प्रतिक्रिया दिनुहोस्