Logo

कोरियाली लगानी भित्र्याउन आग्रह



Spread the love

२६ कात्तिक, बुटवल – तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि शुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाका बारेमा राजदूत सिकलाई जानकारी गराएका थिए । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारका तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदूत सिकलाई आग्रह गरे ।

नेपालमा पुनः मिल्क होलिडे शुरु हुँदा किसान मर्कामा परेको उल्लेख गर्दै उनले दूधको बजारीकरणका लागि नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न कोरियाली सरकारको सहयोगको अपेक्षा गरे । प्राविधिक शिक्षालय, क्षेत्रीयस्तरको बसपार्क, फोहरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माण गर्नुपर्नेमा नगर प्रमुख घिमिरेको जोड थियो ।

कार्यक्रममा राजदूत सिकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजीकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजीक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरे ।

दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदूत सिकले योजनाको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदूत सिकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्