Logo

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म



Spread the love

४ मङ्सिर, भीमदत्तनगर – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ ।

चालु आर्थिक वर्ष २०७३/७४ मा मुलुकभर शुरु भएको परियोजना अन्तर्गत कञ्चनपुरलाई धान जोनको क्षेत्रको रूपमा अघि सारिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१, २, ३, १८ र १९ वडाका साथै कृष्णपुर नगरपालिका–४, ५ र ६ लाई समेटेर धान जोन क्षेत्र विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, कञ्चनपुरले जनाएको छ ।

इकाइका प्रमुख टीकाराम थापाले यहाँ धान जोनको क्षेत्र विस्तार गर्दै लगिएको जानकारी दिए । ‘शुरुमा केही वडालाई समेटिएर जोन क्षेत्र बनाइएको थियो ।’ थापाले भने,“जोन क्षेत्रका किसानलाई उपकरणमा अनुदानदेखि सहुलियतसम्म प्रदान गरिएको छ ।”

धान जोन क्षेत्रका किसानलाई ट्र्याक्टर, ट्रली, पावरटिलर, धान काट्ने मेसिनदेखि राम्रो उत्पादन गर्नेलाई रकम अनुदानसमेत प्रदान गरिएको परियोजनाको कार्यालयले जनाएको छ । ‘जोन क्षेत्रमा चालु आवमा पनि साना सिँचाइदेखि विभिन्न उपकरण खरीदमा गरी रु ९५ लाख बजेट आएको छ ।’ थापाले भने, “सिँचाइ सुविधा थप गर्न पनि रु तीन करोड बजेट आएको छ ।” सिँचाइका लागि आएको बजेट सिँचाइ कार्यालयमार्फत खर्च हुनेछ ।

“साना सिँचाइको काम यहाँबाटै हुन्छ”, थापाले भने, “साना सिँचाइमा स्यालोटय्ब समेत वितरण गरिएको छ ।” पाँच हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती गरिएको क्षेत्रलाई ‘जोन’ को रूपमा विकास गर्ने अवधारणा रहेको छ । स्वदेशी लगानीमा सञ्चालन भएको यो मुलुककै पहिलो परियोजना हो । परियोजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशमा आलु, जैतुन, मकै, तोरी र गहुँ जोन क्षेत्र घोषणा गरिएको छ ।’

परियोजना सञ्चालनका लागि किसान सम्मिलत ‘जोन सञ्चालक समिति’ निर्माण गरेर गरेर काम गर्दै आएको छ । जोन क्षेत्रमा रहेका विभिन्न कृषि सहकारीदेखि किसान समूहबाट प्रतिनिधित्व गरेर आएका किसानबाटै जोन सञ्चालक समिति बनाउने गरिएको छ ।

परियोजना शुरुवात भएको पहिलो वर्ष यहाँको भीमदत्तनगरपालिका–१९ बागफाँटामा रहेको शुक्लाफाँटा कृषि सहकारी संस्थालाई ट्र्याक्टर, धान रोप्ने मेसिन, विषादी छर्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । “परियोजना अन्तर्गत ५० प्रतिशत मात्रै अनुदान हुन्छ”, थापाले भने, “बाँकी ५० प्रतिशत समूह र सहकारीको लगानी हुन्छ ।”

त्यसैगरी गत चालु आर्थिक वर्षमा कृष्णपुर नगरपालिकाको हमरा सयपत्री कृषि सहकारी संस्थालाई समेत उपकरण खरीदमा अनुदान दिइएको थियो । ‘प्रतिफल प्रोत्साहन अनुदानअन्तर्गत प्रतिहेक्टर रु १० हजारका दरले समेत किसानलाई अनुदान दिँदै आएको छ ।’

उनले भने, “त्यसका लागि चालु आवमा रु २५ लाख बजेट आएको छ ।” साथै जिल्लाका अन्य क्षेत्रका किसानको सहुलियतका लागि पनि चालु आवमा प्राङ्गारिक मल कारखाना सहयोग, धान मिल र मसिना धानको विरुवा लागि अनुदान आएको परियोजनाको कार्यालयले जनाएको छ ।
अनुदान र उपकरणका लागि किसानबाट आवेदन प्राप्त भएको र छनोट गरेर वितरण गरिने परियोजना कार्यान्वयन इकाइ कार्यालयको भनाइ छ । विस्तार गरिएको धान जोन क्षेत्रमा करीब पाँच हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्