Logo

चरेससहित चार पक्राउ



Spread the love

१७ मङ्सिर, बुटवल – बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास गर्दा लागुऔषध चरेस फेला पारेको प्रदेश ५ प्रहरी कार्यालय दाङ तुलसीपुरले जनाएको छ । तुलसीपुरबाट खटिएको विशेष अनुसन्धान टोलीले चार व्यक्तिको झोला खानतलासी गर्दा २५ किलो चरेस फेला पारेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–९ का ४४ वर्षीय तिलक पुनका साथबाट ६, रुपन्देही बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय दीपेन्द्र घर्तीबाट ६, जाजरकोट बारिकोट गाउँपालिकाका २८ वर्षीय टोपेन्द्र बोहराबाट ६ र जाजरकोट नल्गा गाउँपालिकाका २८ वर्षीय प्रेम विकबाट सात किलो चरेस बरामद भएको हो ।

प्रहरीले यसअघि गत कात्तिक १७ गते बुटवल–१३ बेलबासमा ३७ किलो चरेससहित तीन जना पक्राउ गरेको थियो । प्रहरीका अनुसार अत्यधिक मात्रामा रुकुम, बाग्लुङ, रोल्पा र गुल्मीका केही स्थानबाट लागुऔषध चरेस बुटवलमा आउने गरेको पाइएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए । यहाँबाट चरेस भारतीय बजारमा पुर्याउन भारतीय ग्राहकलाई बुटवल भैरहवामा आएर कारोवार गर्न सजिलो हुने भएकाले व्यापारीले सीमावर्ती बजारसम्म पुर्याउने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्