Logo

भन्सारमा अनलाइन सेवा



Spread the love

२५ मङ्सिर, परासी – पश्चिम नवलपरासीस्थित महेशपुर भन्सारले अनलाइन विद्युतीय सेवा शुरु गरेको छ । सेवाग्राहीको सहजता र कामकारवाही पारदर्शी बनाउन विद्युतीय माध्यमबाट भन्सार महसुल बुझाउने प्रविधिको शुरुआत गरिएको हो ।

वस्तु आयात–निर्यात गर्न भन्सारमा घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाबाट मुक्त गराई सेवाग्राहीले सुलभ तरिकाले भन्सार महसुल बुझाउन सक्ने गरी अनलाइन सेवा प्रारम्भ गरिएको भन्सार प्रमुख हेमचन्द्र शर्माले जानकरी दिए । सो सेवाबाट सामग्री आयात निर्यात गर्दा भन्सारमा लाग्ने कर, प्रज्ञापन फारम र राजश्व बुझाउने काम अबदेखि अनलाइनमार्फत घरबाटै गर्न सकिने शर्माले बताए ।

“प्रभू बैंकको काउण्टर सेवा पनि भन्सारमै सञ्चालनमा ल्याइएको छ,” उनले भने । सो सेवाको आज प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले महेशपुरका व्यवसायी शरिफ अलि अन्सारीलाई अनलाइन विद्युतीय प्रज्ञापन फारम प्रदान गरी शुभारम्भ गरे । उक्त अवसरमा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीलगायतको उपस्थिति थियो । महेशपुर मूल भन्सारको असोज ७ गते अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका थिए । सो भन्सारमा हाल १७ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्