Logo

अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री



Spread the love

४ पुस, धनगढी – कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिए ।

कर्पोरेशनको अनुगमन टोलीले दुई दिनअघि कैलालीका धनगढी उपमहानगरपालिका, भजनी नगरपालिकाका साथै बर्दगोरिया, जोशीपुर र कैलारी गाउँपालिकामा सरकारी अनुदानको मलको कारोवार गरिरहेका सहकारी संस्था एवं कृषक समूहको कारोवारबारे स्थलगत अनुगमन गरेको थियो ।

स्थानीय तहको सिफारिसमा साल्ट ट्रडिङ कर्पोरेशनले सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । सहकारी संस्थाले किसानलाई यो मल बिक्री गर्दै आएका छन् ।

अनुदानको रासायनिक मलको बिक्री मूल्य सहकारी संस्थापिच्छे फरकफरक रहेको पाइएको अनुगमन टोलीको नेतृत्व गरेका सहायक महाप्रबन्धक पाण्डेले जानकारी दिए । “५० किलोको अनुदानको युरिया मल प्रतिबोरा बढीमा रु ९०० मा बेच्नुपर्नेमा रु ९५० मा बिक्री गरेको पाइएको छ” पाण्डेले भने ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकमा जिल्लाभरि नै ५० किलोको प्रतिबोरा युरिया रु ९००, डिएपी रु दुई हजार ४०० र पोटास रु एक हजार ८०० मा बिक्री गर्नुपर्ने अनौपचारिक सहमति विपरीत उक्त मलको मनोमानी मूल्यवृद्धि गरिएको पाण्डेले बताए ।

मलको मूल्यमा एकरुपता नभएको, ५० किलोभन्दा घटी परिमाणमा मल खरीद गर्न चाहनेले मल नपाउनेजस्ता कारणले लक्षित साना किसानले मल नपाउने, मलको अभाव हुनेलगायतका समस्या सिर्जना हुने गरेको बताइएको छ ।

मलको मूल्य मनोमानी ढङ्गले वृद्धि गरेर किसानलाई बिक्री गर्ने गरेको भए पनि मूल्यमा एकरुपता कायम गर्नमा स्थानीय तह उदासीन देखिएको गुनासो किसानले गर्न थालेका छन् । कर्पोरशनले गएको साउनदेखि मङ्सिरसम्म सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहले गरेको सिफारिशका आधारमा सम्बन्धित क्षेत्रका सहकारी संस्थालाई अनुदानित युरिया मल २० हजार ९९७ बोरा, डिएपी २५ हजार ९३८ बोरा र पोटास दुई हजार १०६ बोरा बिक्री गरेको छ ।

यस्तै गैरअनुदानित एसएसपी सादा प्रतिबोरा छ हजार ९२६, एसएसपी जिंक प्रतिबोरा दुई हजार ७७७, एसएसपी बारोन प्रतिबोरा ९७८ बोरा र एसएस प्रतिबोरा ७९३ बिक्री गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्