Logo

गुल्मीका कुलचन्द्र गौतमको पुस्तक अमेरिकी विश्वविद्यालयको पाठ्यक्रममा समावेश



Spread the love

अमेरिकाको अग्रणी वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माइ जर्नी फ्रम दि हिल्स अफ नेपाल टु दि हल्स अफ युनाइटेड नेशन्स’ लाई आफ्नो पाठ्यक्रम भित्र समावेश गर्नेभएको छ।

म्यासाचुसेट्स् राज्यको वाल्थामस्थित उक्त विश्वविद्यालयले वाणिज्यशास्त्र अन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्व मामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो। यो पुस्तक केहि महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो।

उक्त विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्राष्ट्रिय प्रशासकका रोचक भोगाइहरुको सुरुचीपूर्ण वर्णन मात्र नभइ यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ।

विश्वविद्यालय अन्तर्गतको ‘बिजनेश स्कुल’मा यसको पढाइ हुनलागेको हो। यो शिक्षण संस्था अन्तर्राष्ट्रिय जगतमा बाणिज्य शास्त्रका विद्यार्थीहरुलाई नयाँ नेतृत्वका हिसाबले तयार पार्न विश्व मामलामा दरिलो पहुँच, उच्च नैतिक बल र विषयगत समझमा केन्द्रित रहेको जानकारी पनि प्राध्यापक मेक्नमारले पत्रमा उल्लेख गरेका छन्। परिवर्तित विश्वमा यस किसिमका ज्ञान र समझले भरिएका नयाँ पुस्ताको अत्यन्त खाँचो महशुस गरेरै पुस्तकको चयन गरिएको उनले स्पष्ट पारेका छन्। उनका अनुसार यसै वसन्त ऋतुको नयाँ सत्रबाट यसको पठनपाठन थाल्ने हिसाबले बेन्टलेविश्वविद्यालयको पुस्तक पसललाई नेपालबाट मगाउन अह्राइसकिएको छ ।

यो जानकारीले आफूलाई सन् १९६८ देखि १९७१ सम्म ‘डार्टमथ कलेज’ पढ्दाको समय स्मरण गराएको लेखक कुलचन्द्र गौतमले बताएका छन्।

यो पुस्तक मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा उपलब्ध रहेको जानकारी प्रकाशक ‘पब्लिकेशन्स नेपालय’ले दिएको छ। त्यसैगरि अमेजन डट कम मार्फत् विश्वभरका पाठकहरुको निम्ति ‘इ बुक’ र ‘प्रिन्ट अन डिमान्ड’मा समेत उपलब्ध छ।

पाँच सय ४७ पृष्ठको पुस्तकलाई नेपालमा आठ सय ९५ रुपैयाँ मूल्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्