Logo

कारागारमा रहेका रेशम चौधरीले आज सांसदको सपथ लिँदै



Spread the love

 

फाइल तस्बिर

कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका रेशम चौधरीले बिहीबार ३ बजे सांसदको सपथ ग्रहण गर्ने भएका छन् ।

सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउने संसद् सचिवालयले जानकारी गराएको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रहरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यालयमा ल्याउने र सपथ गराएर कारागार लैजाने तयारी छ।

२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन सुरु गरेका थिए । अनसनमा अस्वस्थ भएपछि २०७४ फागुन २३ गते काठमाडौँ ल्याइएको थियो । काठमाडौँमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन सुरु गरेका थिए । राजपा नेपालको दबाब पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाइ भइरहेको थियो । ढिलाइका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएको थियो । सोही दबाबका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।

सभामुख महराले भने “मैले पहिलेदेखि मेरो कार्यालयमा आउनुहुन्छ भने चौधरीलाई सपथ खुवाउँछु भनेको थिएँ, सरकारले उहाँलाई कार्यालयमा ल्याउँछ भने म सपथ खुवाउँछु, निर्वाचन आयोगले उहाँले जितेको प्रमाणपत्र दिएको छ। उहाँमाथि लागेका मुद्दासँग सपथको कुनै सरोकार छैन।”

‘प्रतिनिधिसभा नियमावली २०७५’ को नियम २४४ को उपनियम ३ अनुसार नैतिक पतन देखिने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सदस्यले सांसदको हैसियतमा कुनै पनि काम गर्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म र कैदमा बसेको अवस्थासम्म सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ ।

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट भारी मतले प्रत्यक्षमा निर्वाचित चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चुनाव जितिसकेपछी चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्