Logo

गुठीका लाभग्राहीको अनुदान सम्झौता



Spread the love

२० पुस, ललितपुर – गुठीका नाममा जग्गा भएका आठ सय लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

लाभग्राहीले स्थानीय तहबाट सिफारिस ल्याएपछि उनीहरुसँग अनुदान सम्झौता गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । जिल्लाभर झण्डै सात हजार भूकम्पपीडितको घर भत्केपनि गुठीका नाममा जग्गा हुँदा अनुदान सम्झौता गर्न पाएका थिएनन् । प्राधिकरणले गुठीका नाममा जग्गा भएका स्थानीयवासीलाई स्थानीय तहको सिफारिसका आधारमा अनुदान सम्झौता गर्न थालेको छ । प्रक्रिया पुर्याएर सम्झौता गरिरहेको एकाइका प्रमुख वीरबहादुर रावलले जानकारी दिए । उनले भने, “गुठीका नाममा जग्गा हुने लाभग्राही सम्झौताका लागि आउने क्रम बढेको छ ।”

प्युटार गोदावारी, बुङ्गमति, गोदामचौरलगायत स्थानमा बसोबास गर्ने धेरै भूकम्पपीडितको जग्गा गुठीको नाममा छ । रातो मछिन्द्रनाथको नाममा धेरै जग्गा र घर छन् भने अरु पनि धेरै गुठीका नाममा जग्गामा स्थानीयवासी पुस्तौँदेखि बस्दै आएका छन् । गुठीको नाममा जग्गाका कारण पुनःनिर्माण ढिलाइ भइरहेको आयोजना प्रमुख रावलले बताए । नगर क्षेत्रमा जग्गाका कारण निजी आवास निर्माणले गति लिन सकेको छैन । उनले भने, “अहिले प्राधिकरणले नै आफ्नो स्थानीय तहको सिफारिस भएपछि सम्झौता गर्न थालेकाले गति लिन सक्छ ।” गुनासोपछि थप भएका समेत गर्दा जिल्लाभरमा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ रहेको थियो । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ तथा तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्