Logo

इन्टरपोल सम्मेलन : आतंकवादविरुद्ध संयुक्त लड्ने प्रतिबद्धता



Spread the love

interpol
काठमाडौं – पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

सम्मेलनबाट नेपाललाई पनि अन्तरदेशीय अपराध अनुसन्धानमा सहजता प्रदान गरेको नेपाल प्रहरीले जनाएको छ । सम्मेलनले सन् २०१७ देखि २०२० को रणनीतिक प्राथमिकताका विषय तय गरेको छ ।

एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकीकृत कार्य सञ्चालन गर्ने, आतंकवादी संगठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाउने, इन्टरपोलको एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता राख्ने र योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन् ।

सम्मेलनको अध्यक्षता गरेका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माका अनुसार रेडकर्नर नोटिस अन्य क्षेत्रको तुलनामा एसियामा कम प्रभावकारी भएकाले रेडकर्नर नोटिसलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

सूचना र अनुभवको अप्रेसनले सम्मेलनमा सबै देशलाई फाइदा भएको इन्टरपोलले जनाएको छ । त्यस्तै विभिन्न देशका प्रहरीसँगको सम्बन्ध विस्तारले अपराध अनुसन्धानमा सहजता बढेको एआइजी शर्माले बताए ।

आतंकवाद नियन्त्रण प्राथमिकतामा
सम्मेलनमा आतंकवादको चुनौती नियन्त्रणका विषयमा गम्भीरताका साथ छलफल भएको एआइजी विज्ञानराज शर्माले बताए । खासगरी इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाको प्रमुख सुरक्षा चुनौती भएको इन्टरपोलले जनाएको छ । मध्यपूर्वका देशहरूबाट उनीहरू बारिहिँदै जाने र एसियाका अन्य देशमा बसेर आतंकवादसम्बन्धी गतिविधि गर्न सक्नेबारे सम्मेलनमा सहभागी विभिन्न देशका अधिकारीले चिन्ता व्यक्त गरेका थिए ।

विश्वमा बढ्दै गएको आतंकवादको चुनौतीबाट नेपाल पनि ढुक्क हुन सक्ने अवस्था रहेको सम्मेलनपछिको समापनपछि आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले बताए । आतंकवादविरुद्ध सूचना आदानप्रदान गरी आतंकवादविरुद्ध लड्नेबारेमा गम्भीरताका साथ छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्