Logo

गाउँगाउँमा घुम्ती शिविर, घरघरमा सेवा



Spread the love

१४ माघ, ओखलढुङ्गा – जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताए ।

खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा सबै आठ वटै स्थानीय तहका गाउँगाउँमा सरकारी घुम्ती शिविर पुर्याइने उनको भनाइ छ ।

लिखु गाउँपालिकामा सञ्चालन भएको शिविरमा ३८४ जना र खिजीदेम्बा गाउँपालिकामा सञ्चालन भएको शिविरमा करीब ६०० जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

गाउँमा सञ्चालन भएको शिविरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई बढी सुविधा भएको छ । सेवा लिन सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राही गाउँमै दिइएको सेवाबाट लाभाम्वित भएका हुन् ।
‘क’ श्रेणीको अपाङ्गता परिचयपत्र भएका तर नागरिकता नभएका कारण सेवाबाट वञ्चित उनीहरु घरैमा सेवा पाएपछि खुशी भएका छन् । सरकारी घुम्ती शिविर लिएर गाउँ पुगेको टोलीले शिविरस्थलसम्म पनि आउन नसक्नेलाई घरघरमै पुगेर सेवा दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले बताए ।
‘नागरिकलाई सहज सेवा दिनकै लागि टोली लिएर गाउँ पुग्दा त्यहाँ पनि आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने गरेका छौं ।’ पौड्यालले भने ।

प्रतिक्रिया दिनुहोस्