Logo

आउने भयो “शब्दालय” साहित्यिक पत्रिका



Spread the love

नेपाली साहित्यिक पत्रिका “शब्दालय” प्रकाशन हुने भएको छ ।

हाललाई त्रैमासिक ई-पत्रिकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए । साहित्यिक पत्रकारितामा लामो अनुभव संगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउँदै वेबसाइट तयार भैरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने बताए ।

नेपाली साहित्यलाई विश्व पाठकमाझ पुर्याउने, घर-देश र पर-देशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक बिकासमा टेवा पुर्याउने उदेश्य बोकेको उक्त प्रयासले नेपाल र काम बिशेष प्रवासमा रहेका सर्जकबीच पूलको काम गर्ने उनको दावी छ । ‘अन्नपूर्ण पोस्ट’ मा आठ वर्ष बरिष्ट उप-सम्पादकका रुपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि, अन्तर्दृष्टि, कालान्तर, समानान्तरण, मधुरसलगायतका दर्जनौ विविध पत्रिकाका सम्पादकका रुपमा अनुभव संगालेका छन् । पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रुपमा दुई कार्यकाल काम पनि गरेका थिए ।

सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउँदै साहित्यकारको कलमको सम्मानार्थ बर्षभरिमा प्रकाशित सिर्जना मध्ये गद्य र पद्यबाट एकएक सिर्जनालाई २५०/ २५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए ।

सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले बिदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुर्याउने बताउँदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने, सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए ।

साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उदेश्य राखेको बताउँदै नेपाली साहित्यको फैलावटमा बिशेष काम गर्ने बताए । त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन् । विश्वका बिभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्दता रहेको शब्दालय प्रकशनले नेपालमा छिट्टै प्रकाशन गृह संचालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उदेश्य राखेर काम आरम्भ गरेको छ ।

०००

०००

प्रतिक्रिया दिनुहोस्