Logo

हिमपातले सडक अवरुद्ध



Spread the love

१७ फागुन, रुकुमपूर्व – रुकुमपूर्व लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीना दिनयता यातायातका साधन चल्न सकेका छैनन् ।

रुकुमपूर्व र बागलुङको सिमानामा पर्ने सडक खण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । यातायातका साधन ठप्प हुदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारबारको हिमपातले सडकमा हिउँ थुप्रिँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

हिउँ जमेपछि रुकुमपूर्वबाट बागलुङ, पोखरा हुँदै काठमाडाैँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन शिकार आरक्ष पुग्ने मानिस पनि रुकुमकोटमै बसिरहेका छन् । हिउँ नपग्लिँदा उक्त सडकखण्डमा पूर्णरुपमा यातायातका साधन ठप्प भएको स्थानीय मरीचमान पुनले बताए । अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरासम्म यातायातका साधन पुग्ने गरे पनि त्योभन्दा माथि हिउँका कारण जान सकेका छैनन् । गैटी, बेल्चाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि चिसोका कारण सम्भव नभएको पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्