Logo

बुलबुल : बन्न नपाउँदै फुटिजाने पानीका फोका



Spread the love

मिलन लोहनी

नेपाली सिनेमा जगतमा प्रयोगात्मक या भनौं अलग धारको फिल्म बन्न कुनै पनि निर्माता वा निर्देशकले नजाने कति पटक सोच्नु पर्ने हुन्छ । पछिल्लो समय चलचित्रले अलग धार समातेको भनिएता पनि परम्परागत शैलीका चलचित्र झैं यी सिनेमाहरु पनि फर्मुलामा सिमित हुन थाले । पछिल्लो पुस्तामा ढिसुम-ढिसुम् चल्थ्यो भने अहिलेको समयमा सस्ता हाँसो । यस्तो दृश्य प्रदुषणले गर्दा, चलचित्रको स्तर हाम्रो समाजमा माथि उठ्न सकेको छैन ।

‘आर्ट हाउस सिनेमा’का नाममा केही अर्थ न बर्थका चलचित्रहरु पनि आउने गर्छन्, बेला-बेलामा । अनि सिमित सिनेफिल दर्शकहरु आशा बोकेर हलसम्म पुगेका हुन्छन । अनि मैले भर्खर उल्लेख गरेका जस्ता चलचित्रमा ठोक्किन पुग्छन । अनि त्यसपछि सो कल्ड आर्ट हाउसका सिनेमा हेर्न पनि दर्शकहरु नजाने कति पटक सोच्ने गर्छन् । अन्तमा यो साइकलमा वास्तव मै अलग धारमा बन्ने चलचित्रलाई ठुलै मर्का पर्न जान्छ ।

कारण ? प्रदुषणमा रमाउनेहरु कुवाका भ्यागुता जसरी आफ्नो टेस्ट बदल्न चाहन्नन् । अनि ती प्रयोगात्मक चलचित्रको निकै थोरै दर्शकहरु अघिल्लो गल्ती दोहोरिएला भन्ने दोधारमा जाउँ-नजाउँ गर्दा-गर्दै मिती खुस्की सक्छ । अनि, ‘बुलबुल’ जस्तो चलचित्रहरुले हलमा सिमित शो मात्र पाउन बाध्य हुन्छन ।

‘बुलबुल’ एक स्तरीय चलचित्र मात्र नभई एउटा मौलिक कथा बोकेको नेपाली चलचित्र हो । केही हद सम्म कमर्सियल अडियन्सलाई निशाना गरिएको भएपनि यो एउटा अब्बल ‘आर्ट हाउस सिनेमा’ हो । उठान गरिएको बिषयवस्तु, प्रस्तुती लगायत सबैकुरामा राम्रो मेहेनत झल्किन्छ । अनि थुप्रै नेपाली चलचित्रहरुमा गरिने लापरवाहीलाई यो चलचित्रले भने सम्बोधन गरेको पाईन्छ । कुनैपनि शट हावादारी र कथा भन्दा बाहिर गएको देखिन्न । पात्रहरुले आफ्नो क्यारेक्टरबाट बाहिर गएको भेटिन्न । पार्श्व संगीतको राम्रो प्रयोग गरिएको छ भने तह-तहका बिम्बहरुको सुन्दर ढंगले प्रयोग गरिएको भेटिन्छ ।

‘बुलबुल’ चलचित्रको सबै भन्दा मन परेको पाटो, पात्र निर्माण र विकास हो । बिम्व, अलङकार र प्रस्तुतिमा पाइने मौलिकताले चलचित्रलाई बलियो त बनाएको छ नै । ए ! अर्को कुरा, कतिपय आर्ट हाउस सिकारु चलचित्रमा, बिम्वको ब्यापार जसरी कथाबस्तुलाई नै अल्छिलाग्दो तरिकाले सबटेक्स्ट लादेको पाईन्छ । तर, यो चलचित्रमा तह छ । बिम्वको प्रयोग गर्ने क्रममा त्यो खाले लापर्वाही गरिएको छैन ।

छायांकन, पार्श्व ध्वनी, कथाबस्तु प्रतिको न्याय र मौलिकताले बुलबुललाई नेपालमा बनिने थोरै उत्कृष्ट चलचित्रहरु मध्ये एक बनाएको छ । कमर्सियल सिनेमा सधैं सस्तो फर्मुलामा नै बन्नु पर्छ भन्ने बिचारधारा बोकेका चलचित्रप्रेमी वा अनुयायीहरुका लागि ‘बुलबुल’ एक स्वादिलो झापड जसरी प्रस्तुत भएको छ । एउटा सामान्य र सुनिआएको कथावस्तुलाई पनि एउटा फरक ढंगले प्रस्तुत गर्दा कुन उचाइसम्म पुर्याउन सकिन्छ भन्ने उदाहरण बन्न सफल भएको छ, ‘बुलबुल’ ।

प्रतिक्रिया दिनुहोस्