Logo

डेढ महीनापछि खुल्यो शहीदमार्ग तर अझै खुलेन मध्यपहाडी लोकमार्ग



Spread the love

२७ फागुन, रुकुम (पूर्व) – भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो ।

शहीदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । शहीदमार्ग भएर भुमेको काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुदै घोराही, नेपालगञ्ज, काठमाडौँ पुग्न यात्रुलाई सहज भएको छ ।

सांकेतिक तस्बिर

काँक्रीबाट शहीदमार्ग भएर घोराही जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, शहीदमार्ग अवरुद्ध भएपछि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको थियो । शहीदमार्ग खुलेसँगै लामो बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । काँक्रीबाट घोराही र घोराहीबाट काँक्रीका लागि दैनिक एक÷एक गाडी सञ्चालन हँुदै आएका छन् ।

अझै खुलेन मध्यपहाडी लोकमार्ग

जिल्लाको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महीनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा भुमे गाउँपालिका–२ काँक्रीदेखि बुर्तिबाङ हुँदै पोखरा, काठमाडाँैसम्म चल्ने यातायातका साधन चल्न सकेका छैनन् । उच्च भेगमा पर्ने सडकमा पटकपटक बाक्लो हिमपात भएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

काँक्रीबाट बुर्तिबाङ, पोखरा हुँदै काठमाडौँ दैनिक एक गाडी सञ्चालन हुँदै आएको थियो । यो वर्ष पटकपटक हिमपात भएकाले लामो समयसम्म उक्त सडकखण्डमा यातायातका साधन ठप्प हुँदा पोखरा, चितवन, काठमाडाँै जाने यात्रु समस्यामा परेका छन् । सडकमा जमेको हिउँ नपग्लिएसम्म मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालन गर्न नसक्ने यातायात व्यवसायी सनम गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्