Logo

कांग्रेसद्वारा गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी



Spread the love

१९ चैत,पर्वत । पर्वतको महाशीला गाउँपालिकाको कार्यालयले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सोमबारदेखि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर कांग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको कांग्रेसले सोमबारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

आन्दोलन गरेपछि गाउँपालिका र कांग्रेसबीच बीच सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली कांग्रेसका उज्ज्वल गुरुङले जानकारी दिए।

गाउँपालिकाका तर्फबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरूले आफ्नो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको थियो।

कांग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले कांग्रेसका मागलाई हाँसोमा उडाउनुसरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ।

कांग्रेसले आफ्ना न्यूनतम माग पूरा हुनुपर्ने, अधिकारसहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमति कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकाले घटाइनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलापमा कांग्रेसलाई पनि सहभागी गराइनुपर्ने माग पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलिने अन्यथा तालाबन्दी अनिश्चितकालसम्म रहने बताएको छ।

प्रतिक्रिया दिनुहोस्