Logo

शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन बृहत् क्रान्तिको आवश्यक : पूर्व मन्त्री टेकबहादुर बस्नेत



Spread the love

पूर्व सामान्य प्रशासन मन्त्री तथा सङ्घीय सांसद टेकबहादुर बस्नेतले शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउनको लागि बृहत् क्रान्तिको आवश्यक रहेको बताएका छन् ।

बिहीबार बागचौर नगरपालिका वडा नं.४ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा श्री सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका वडा नं.४ शिवरथ पेदिखोलाको खेल मैदान उद्घाटन र अभिभावक भेला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सिंहदरबारको अधिकार गाउँगाउँमा आए पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन नभएको भन्दै सामुदायिक विद्यालयप्रतिको मोह जनतालाई बुझाउनु पर्ने समेत बस्नेतले बताए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले छोरा छोरीलाई निजी विद्यालयमा अध्ययन गराएर, बुबा आमाले सामुदायिक विद्यालयमा शिक्षण पेसा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयलाई जागिरे थलो बनाई, निजी विद्यालयमा बालबच्चा पढ्न पठाउने परिपाटीलाई अन्त्य नगरेसम्म शैक्षिक क्षेत्रमा सुधार नहुने भन्दै यस तर्फ सबैको ध्यान जानुपर्ने बस्नेतले बताए ।उनले नेकपाको दुई तिहाइ सरकारलाई प्रतिपक्षले धेरै टिप्पणी गरेपनी त्यसको पछि नलाग्न सबैलाई अनुरोध गरे । दुइतिहाई सरकारको पहिलो वर्षको काम भनेको ऎन,कानुन,निर्देशिका निर्माण गर्ने भएकाले सरकार त्यता तिर लागेको प्रस्ट पारे । आगामी वर्षदेखि सरकार तीव्रताका साथ जनताको विकास निर्माण, सुशासन कायम गर्न तर्फ लाग्ने उनले बताएका हुन् । उनले सहिदहरूको बलिदान र जनताको त्याग तपस्याबाट निर्मित सङ्घीयता भएकाले सिंहदरबारको अधिकार प्रत्येक स्थानीय तहमा आएको उक्त अधिकारलाई जनता सामु छिटो, छरितो र प्रभावकारी ढङ्गले पुर्‍याउन प्रत्येक स्थानीय तहहरूलाई अनुरोध गरेका थिए ।

कर्णाली प्रदेश क्षेत्र न ‘क’ सल्यानका प्रदेश सांसद तथा नेकपा कर्णाली प्रदेशका मुख्य सचेतक गुलाब जङ्ग शाहले “सुखी नेपाली,समृद्ध नेपाल” बनाउने अभियानमा आँफुहरु लागि परेको बताए । शाहले वर्षौँ पछाडि पारिएका जातजाति, भूगोल परिवेशलाई संघियताको खाकामा राखेर तीव्र रूपमा विकासको सुरुवात भइरहेको र यसलाई सबल बनाउन आम नेपालीको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसमा साथ दिन सबैलाई अनुरोध गरे । शाहले आफ्नो कार्यकाल भित्र सल्यानलाई विकासमय बनाउने बताए ।

बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले देशलाई समृद्ध बनाउनको लागि तीनै तहका सरकारको सहकार्य हुनु पर्नेमा जोड दिए । बुढाथोकीले पछिल्लो समयमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण र प्रदेश सरकारले स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण फरक भएकाले देशमा संघियताको मर्म अनुसार विकास हुन नसकेको बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले प्रथम वडा स्तरीय वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा भाग लिएका खेलाडीहरूलाई नगरमा हुने मेयर कप प्रतियोगितामा भाग लिनको लागि सफलताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा बागचौर नगरपालिकाकी उप–प्रमुख कल्पना पुन,नेकपाका कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन (प्रकाण्ड) बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी,बागचौर नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम शर्मा, बालकन्या माध्यमिक विद्यालय कोटबारा टाट्केका अध्यक्ष शोभाराम भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रथम वडा स्तरीय अध्यक्ष कप खेलकुदमा, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू समावेश गरिएको छ भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत, सङ्घीय बजेट २० लाख र जनश्रमदान ३ लाख गरी जम्मा २३ लाख लगानीमा निर्मित सरस्वती माध्यमिक विद्यालय पेदिखोलाको खेल मैदानको सार्वजनिक लेखा परीक्षण समेत गरिएको थियो ।

लेखा परीक्षण कार्यक्रममा विद्यालय परिवारले,आफ्नो विद्यालयलाई बजेट विनियोजन गरेर सहयोग गरेकोमा सासंद् टेकबहादुर बस्नेतलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

अभिभावक भेला सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालय शिबरथ पेदिखोलाको अभिभावक भेला सम्पन्न गरिएको छ । अभिभावक भेलामा बोल्दै विद्यालयका प्रधानाध्यापक रामरोशनी बस्नेतले आफ्नो विद्यालयको मा.बि तहमा सल्यान जिल्लाकै सबै भन्दा बढी विद्यार्थी रहेको दाबी गरे । उनले आँफुहरु नयाँ -नयाँ प्रविधिको विकास गरेर नयाँ तरिकाबाट आफ्ना विद्यार्थीहरूलाई विश्वको जुनसुकै कुनामा बिक्न सक्ने बनाउन लागि परेको बताए । बस्नेतले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक रबिकिरण वलिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्