Logo

पूर्वराजदूत शेर्पाले गरिन यस्तो खुलासा



Spread the love

चैत २२ काठमाडौँ । मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले ‘एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको’ आरोप लगाएकी छन् ।

राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन ।

‘चालक वाङ्छुका अनधिकृत गतिविधिसँगै उनले दूतावास छाडेर भाग्नासाथ गत वर्ष मंसिर ५ मै परराष्ट्र मन्त्रालयमा मैले सबै विषय अवगत गराएकी हुँ,’ शेर्पाले कान्तिपुरसँग भनिन् । उनले चालक वाङ्छु र उसकी श्रीमती फुल्हमले अस्ट्रेलिया लैजाने भन्दै ६ जना नेपालीसित २० लाख रुपैयाँभन्दा बढी ठगेको भन्नेबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको विषयमा राजदूत हुँदै आफूलाई जानकारी भइसकेको बताइन् ।

सीआईबीले वाङ्छुको खोजी गर्दै अस्ट्रेलिया सरकारसमक्ष पत्राचार गरेको र उनकी श्रीमती मानव तस्करीकै अभियोगमा काठमाडौंमा थुनामा रहेको जानकारी हुँदाहुँदै परराष्ट्रले उल्टै आफूमाथि छानबिन समिति गठन गरेकोमा आश्चर्य लागेको उनले बताइन् ।

‘सामाजिक सञ्जाल र केही मिडियामा अफवाह फैलिन थालेपछि मैले यथार्थ बाहिर ल्याउन चाहे पनि परराष्ट्रले कूटनीतिक मर्यादामा रहँदै केही प्रतिक्रिया नजनाउन दबाब दियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकर बैरागी स्वयंले मलाई आफ्नाबारे बोल्नै दिनुभएन,’ उनले भनिन्।

‘तर न उहाँहरूले छानबिन समितिको रिपोर्टबारे केही भन्नुभयो, न आफूले नै केही बोल्नुभयो,’ उनले भनिन् ।
दूतावासबाट भागेपछि गत जुलाईमा राजनीतिक शरणार्थीका रूपमा अस्ट्रेलिया सरकारसमक्ष आवेदन दिएका वाङ्छुविरुद्ध सीआईबीले ‘फरार अभियुक्त’ का रूपमा इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ ।

पूर्वराजदूत शेर्पाले आफू रआफ्ना श्रीमान्ले पैसा असुलेर चालक वाङ्छुलाई अस्ट्रेलिया लिएर गएको भन्ने आरोप लागेपछि आफ्ना सबै बैंक खाता र वैयक्तिक विवरण छानबिन समितिलाई बुझाएको बताइन् । समितिमा रहेका परराष्ट्रका वरिष्ठ अधिकारीहरू अहिले राजदूत बनेर विभिन्न मुकाममा पुगे पनि प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

‘वाङ्छुले आरोप लगाएपछि अनुसन्धानमा सहयोग मिलोस् भनेर मैले आफ्नो कूटनीतिक उन्मुक्ति खुला गर्न अस्ट्रेलिया सरकारसमक्ष निवेदन दिएकी थिएँ,’ लक्कीले भनिन्, ‘तर, अस्ट्रेलियन सरकारले ममाथिका सबै आरोपमा सफाइ दिँदै कूटनीतिक हैसियतमा काम गर्न भनेको थियो । तर, आफ्नै सरकार र कूटनीतिक निकाय भने कुनै पद्धतिबाट भन्दा पनि प्रायोजित रूपमा मलाई हटाएरै छाड्ने अभियानमा लागिरह्यो ।’

विगतमा एबीसी नेपाल संस्थासम्बद्ध रहेर मानव तस्करीविरुद्धको अभियानमा लागेको र पहिलो संविधानसभाताका समानुपातिक सांसद बनेर संघीय तथा समावेशी पद्धतिमा बहसपैरवी गर्दै हिँडेर आफ्नै छवि बनाएकी एक महिलालाई कूटनीतिक वृत्तमै ‘चरित्रहत्या’ गर्न खोजिएको उनको गुनासो छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा परराष्ट्रमन्त्री ज्ञवाली र सचिव बैरागी दुवै सम्पर्कमा आउन चाहेनन् । ‘यो पूरा भइसकेको छानबिनमा राजदूतले स्वेच्छाले राजीनामा दिएको मामला हो,’ छानबिन समितिका एक पदाधिकारीले भने, ‘अब पूर्वराजदूतले जे भन्नपनि सक्नुहुन्छ ।’

पूर्वराजदूत शेर्पाले छानबिन भनिए पनि त्योसमेत ‘योजनाबद्ध’ रहेको हुन सक्ने बताइन् । ‘परराष्ट्रले मलाई कहिल्यै केही सोधेन । बरु म आफैंले सबै जानकारी गराइरहें । एउटा च्यानल र अर्को मिडियामा आएको खबरका आधारमा संशयको कुरा मात्रै गरिरहने  ? खोइ त अनुसन्धान  ? खोइ त परराष्ट्रको छानबिन रिपोर्ट  ? उनले भनिन्, ‘परराष्ट्रमन्त्री र सचिवसमक्ष मेरा सबै रिपोर्ट र अपडेटहरू छन् । खोइ त परराष्ट्रको भनाइ ?

शेर्पाले अस्ट्रेलियामा शैक्षिक कन्सल्टेन्सीको बेथितिबारे २०१८ को जुनमा परराष्ट्रसमक्ष गोप्य प्रतिवेदन पेस गरेको उल्लेख गर्दै ‘तर प्रतिवेदनबारे परामर्श र कारबाही गर्नुको साटो परराष्ट्रका उच्च अधिकारीको तहबाटै त्यसलाई लिक गर्ने काम भएको बताइन् ।

‘कन्सल्टेन्सीका प्रतिनिधि र एजेन्टहरू नै त्यो लिक भएको रिपोर्ट लिएर मकहाँ आउन थाले । सयौं विद्यार्थी अलपत्र हुन सक्ने भद्रगोल स्थितिबारे मैले पूर्वसंकेत गरेकी थिएँ । तर, परराष्ट्रमन्त्री र सचिवसमेत त्यो प्रतिवेदनबारे बेखबर देखिनुभयो । हाम्रो कूटनीतिक संयन्त्र र पद्धति यसकारण पनि ‘स्पोन्सर्ड’ झैं लागेको हो ।’

आफूलाई कसैले राजीनामा गर्न भनेको उल्लेख गर्दै ‘नखाएको विष लाग्दैन’ भन्ने ठहरमा स्वविवेकले राजीनामा दिएको शेर्पाले जनाइन् । आफू परराष्ट्र मन्त्रालयको ‘विभेद’ र मिडियाको एकोहोरो खेदाइमा परेको उनको गुनासो छ ।

माओवादी कोटामा राजदूत बनेकी शेर्पाले आफ्नो भोगाइ र नेपाली समाजमा एउटी महिलाले बेहोर्नुपरेको बुहार्तनबारे पुस्तक लेख्ने योजना बनाएकी छन् । ‘मेरो राजदूत नियुक्तिपछि सुरु भएको प्रपञ्च र नियतभित्र धेरै छिपेका तथ्य (हिडनफ्याक्ट) छन् । मैले धेरैका धेरै खालका चाहना र माग पूरा गर्न नसकेकै हो । यो मैले बोध गरेकी छु । यी कुरा पुस्तकमा आउनेछ,’ उनले भनिन् ।

वाङ्छुविरुद्ध मुद्दैमुद्दा

अस्ट्रेलिया लैजाने भन्दै चालक वाङ्छु र उसकी श्रीमती फुल्हमले निमा दाबा शेर्पा, निमा बुटी शेर्पा, टासी ल्हामु शेर्पासँग मोटो रकम असुलेको प्रमाणसहित पीडितले काठमाडौं जिल्ला अदालतमा उजुरी गरेपछि गत वर्षको वैशाखमै सीआईबीले वाङ्छुका बारे खोजीनीति थालेको थियो ।

सिंगापुर प्रहरीमा रहेका तेम्बा शेर्पा, सोलुका कमलबहादुर, पासाङकाजी शेर्पासहितबाट लाखौं रुपैयाँ ठगेर फरार भएका वाङ्छुबारे पीडितले बोलेको भीडीओ रेकर्ड सीआईबी र परराष्ट्रमा समेत थियो ।

‘तर, सही पीडक वाङ्छु बारेका प्रमाणहरू परराष्ट्रको छानबिन समितिले हेर्न चाहेन, भ्याएन,’ लक्कीले भनिन्, ‘एकोहोरो रूपमा मलाई तपाईं केही नबोल्नुहोला भनेर पन्छिने काम मात्रै भयो ।’ चालक वाङ्छुले पीआर पाउन सकिने ‘गाइडेन्स’ र पूर्वयोजनाअनुसार आफूसँगको कुराकानी रेकर्ड गरेको भन्दै यसलाई त्यही रूपमा अर्थ्याएर प्रचार गरिएको लक्कीले बताइन् ।

आफूहरूसँग चालकका रूपमा २०१७ को जुनमा अस्ट्रेलिया जानुअघि घरेलु सहयोगीका रूपमा काठमाडौंमा सँगै बसेका वाङ्छुलाई सुन्दरीजल, नयाँपाटीमा रहेको आफ्नो २ रोपनी जमिनमा पर्खाल लगाउने, टहरो बनाउने काम दिइएकोमा त्यहींबाट गतल नियत सुरु भएको लक्कीले सुनाइन् ।

‘पर्खाल लगाउने, टहरो बनाउने,ट्वाइलेट–बाथरुम बनाउनेसहितका काममा हामीले कामदारलाई दिन भनेर झन्डै ७ लाख रुपैयाँ दिएका थियौं,’ उनले भनिन्, ‘तर, उसले त्यो रकम कामदारलाई नदिई मोजमस्तीमा सकेको रहेछ । त्यही कुरा पछि थाहा पाएर अस्ट्रेलिया पुगेपछि त्यो पैसा किन नतिरेको, तुरुन्त बैंक खातामा पठाइदेऊ भनिएको संवादलाई मानव तस्करीमा जोडेर उसले पूर्वयोजनाअनुसार रेकर्ड गरेको थाहा भयो ।’ आजको कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्