Logo

आफन्त हेरेर बजेट विनियोजन गर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल



Spread the love

चैत २४ काठमाडौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफन्त हेरेर बजेट विनियोजन गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । चौतारा बहुमुखी क्याम्पसको १३औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै पौडेलले आफन्तलाई हेरेर बजेट विनियोजना गरिने परिपाटीले समृद्धि नआउने बताएका हुन् ।

‘एकोहोरो समृद्धिको नारा लगाउँदैमा मुलुकमा विकास हुँदैन । बजेट विनियोजन गर्दा आवश्यकतालाई भन्दा आफन्तलाई हेर्ने प्रवृत्ति छ । यस्तो परिपाटी अन्त्य नगरेसम्म हरेक सरकार असफल हुन्छन् ।’ उनले भने, ‘बजेट वितरण प्रणालीमा सुधार नल्याएसम्म जनताको आवश्यकता पूरा गर्न सकिँदैन ।’

गुणस्तर वृद्धिका लागि प्रदेशस्तरीय विश्वविद्यालय
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएकाले आगामी शैक्षिक सत्रमा सबै विद्यालयमा नर्स राख्ने योजना रहेको उनले बताए ।

प्रदेशमा सुधार गरेको दाबी
मुख्यमन्त्री पौडेलले विगतबाट पाठ सिकेर प्रदेश ३ सरकारले बजेट वितरण प्रणालीलाई सुधार गरेको दाबी गरे । जनताको आवश्यकता र प्राथमिकताका आधारमा विकास बजेट विनियोजन गरेको उनको भनाइ छ ।

प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि १ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । प्रदेशका एक सय ६० सामुदायिक क्याम्पसको स्तरोन्नतिका लागि प्रतिबद्ध रहेको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिलाई सुझाब दिँदै उनले समुदायलाई केन्द्रमा राखेर आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए । आजको नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया दिनुहोस्