Logo

परीक्षण उडानमै सीमित रेसुङ्गा विमान स्थल



Spread the love

२५ चैत , गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौर स्थित रेसुङ्गा विमानस्थलको देखाउनको लागि मात्र उद्घाटन र परीक्षण गरियो भन्दा कुनै फरक नपर्ने भएको छ । विमानस्थल औपचारिक रूपमा २०६४ सालबाट निर्माण गर्न थालिएको थियो ।

तत्कालीन नागरिक उड्यन तथा पर्यटन मन्त्री प्रदीप कुमार ज्ञवालीले विमान स्थलको शिलान्यास गरेका थिए । २०६४ सालबाट निर्माण प्रक्रिया अघि बढेको विमानस्थल कछुवाको गतिमा बिस्तारै बिस्तारै २०७५ सालमा आएर परीक्षण उडान गर्न सक्ने अवस्था सम्म पुग्यो ।

२०७५ साल जेठ २५ गते हाल नेपाल सरकारका परराष्ट्रमन्त्री रहेका प्रदीप कुमार ज्ञवालीले विमानस्थल परीक्षण उद्घाटन गरेका थिए । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको उक्त विमानस्थल व्यक्तिहरूको र सार्वजनिक जग्गा गरी १ सय १२ रोपनी जग्गामा फैलिएको छ भने निमार्णको लागि १४ करोड २४ लाख ७४ हजार रकम खर्च भइसकेको छ ।

विमानस्थल निर्माण हुन नै एक दशक भन्दा बढी समय खर्चिएर गुल्मेली जनता निराश बनेको अवस्थामा परीक्षण उडानले केही राहत पाएको र पुनः ढिला सुस्ती दोहोरिन थालेको छ ।

सफल परीक्षण गरेको १० महिना बितिसक्दा पनि अहिलेसम्म उक्त विमानस्थलमा नियमित उडान कहिलेसम्म हुन्छ भन्ने कुरा ठेगान नै छैन ।

रेसुङ्गा विमानस्थल निर्माण समितिका अध्यक्ष मधु कृष्ण पन्तले भने, “उडान दुई तरिकाबाट भर्न सकिन्छ । कच्ची र पक्की । हामीहरू पक्की उडान भर्ने तयारीमा छौ । टावर तथा पिच निर्माण भए पछि र प्राविधिकले ठिक छ भने पछि हामीले नियमित उडान भर्छौँ ।”

रेसुङ्गा विमानस्थल यदि नियमित सञ्चालनमा आउने हो भने गुल्मीसँगै अर्धखाँची जिल्लाका नागरिकले प्रत्यक्ष फाइदा लिने छन् भने अन्य छिमेकी जिल्लाका नागरिकहरू पनि लाभान्वित हुनेछन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्