Logo

मृतक शिशुकाे शव उठेन, पिडित पक्षद्वारा १५ लाख रुपैयाँ क्षतिपूर्ति माग



Spread the love

रिया बस्नेत


 


२६ चैत्र, बुटबल – बुटवल अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै अभिभावकले १५ लाख क्षतिपूर्ती माग गरेपछि आम्दा बुटवलमा हिजो साँझ मृत्यु भएको शिशुको शव अझै उठ्न सकेको छैन ।

बुटवलको सुक्खानगरका नारायण दर्लामीका १० महिने छोरा ओम दर्लामीको हिजो साँझ आम्दा अस्पताल बुटवलमा ज्यान गएको हो। अस्पतालको लापरबाहीले आम्दा बुटवलमा पटक पटक यस्ता घटना भइरहेको भन्दै अभिभावकले घटनाको निष्पक्ष छानबिन गर्न र रू १५ लाख क्षतीपूर्ती दिन अस्पताल प्रशासनसँग माग गरेका छन् ।

सहमतिका लागि हिजो राती अबेरसम्म भएको छलफल निष्कर्षविहिन भएको थियो । विज्ञहरुको समुह बनाएर घटनाको छानबिन गर्न अस्पताल प्रशासन तयार भए पनि आर्थिक क्षतिपूर्ती दिन नसक्ने प्रशासनले अडान लिएको छ ।

निमोनिया भएर आम्दा बुटवलको आकस्मिक कक्षमा पुर्याए पनि समयमै डाक्टरले उपचार नगरिदिँदा शिशुको मृत्यु भएको अभिभावकले आरोप लगाएका छन । साँझ पौने ६ बजेतिर अस्पताल पुगेको र साढे सात बजे शिशुको ज्यान गएपछि मात्र डाक्टर आएको मृतकका बाबु नारायण दर्लामीले बताए ।

भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई त्यँहा पुर्याएका थिए । आम्दा पुग्नुअघि नारायणले डा. सन्तोष पोखरेललाई मेडिकलमा जाँच गराए । डा. सन्तोषले पनि भर्ना नै गर्नुपर्ने भन्दै औषधि लेखेर आम्दामा पठाएका थिए । डा. सन्तोषले लेखेको औषधि आम्दामा नर्सहरुले शिशुलाई दिए तर थप चेकजाँच गर्न डाक्टरहरु आएनन् । आम्दामा डाक्टरहरुले समयमा थप उपचार नगरेकोले शिशुको ज्यान गएको भन्दै अभिभावक आक्रोषित भएका छन् ।

डा. सन्तोषले मेडिकल जाँच गराउँदा लेखेको औषधी नर्सहरुले दिए । तर आम्दामा कुनै पनि डाक्टरले आफ्नो छोराको चेकजाँच नगरेको आमा ज्ञानु दर्लामीले बताएकी छन । “डाक्टर बोलाइदिनुस् भनेर आफुले पटकपटक आग्रह गर्दा पनि नर्सहरुले कुनै वास्ता नगरेको र शिशुको मृत्यु भएपछि मात्र डाक्टर आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्