Logo

‘माफ गर्नुहोस्, मलाई बिरामी जाँच्न मन छ तर यतिबेला मै माथि अन्याय भएको छ’



Spread the love

२७ चैत, काठमाण्डौ

सरकारी चिकित्सक आन्दोलित बनेको पाँच दिन बितिसक्दा अझै पनि समस्या समाधानको पहल भएको छैन ।

आन्दोलनका कारण स्वास्थ्य सेवामा गम्भीर असर परेको भन्दै नियमित काममा फर्कन वीर अस्पतालले गरेको आग्रहसमेत चिकित्सकले टेरेका छ्रैनन् । चिकित्सकले अस्पतालका भित्तामा ‘माफ गर्नुहोस्, मलाई बिरामी जाँच्न मन छ तर यतिबेला मै माथि अन्याय भएको छ’ भन्ने वाक्य लेखेर टाँसेका छन् ।

सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।

रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने चिकित्सक आफैँ आन्दोलनमा उत्रिएर दोहोरो पीडा दिएको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । बिरामीले उपचार नपाएर रोगले च्याप्दै गएको बताएका छन् भने कतिपयले आफूहरु उपचार नपाएर नै मर्ने हो त ? भनेर चिकित्सकसँग प्रश्नसमेत गरेका छन् ।

असमान तरिकाले चिकित्सक समायोजन गरेको लगायतका माग राख्दै यही चैत २० गतेको आकस्मिक भेलाले २१ गतेदेखि सञ्चालन गर्ने गरी चिकित्सकले आन्दोलनको घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सबै चिकित्सकलाई सङ्घअन्तर्गत राख्न नसकिने बताइसकेको छ । मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा समेत नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ र अन्य प्रचलित कानूनका आधारमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ । तर चिकित्सकले सामूहिक राजिनामा धम्की दिएका छन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको आन्दोलनका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग तथा विभिन्न सरोकारवाला निकायसँग आन्तरिक छलफल भइरहेको भन्दै चिकित्सकसँग कुनै छलफल नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्