Logo

मन्त्रीको व्यङ्ग्य : ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’



Spread the love

३० चैत, भक्तपुर ।
भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “के भनौ र खै तिमी हाँस है, मै बसौँला रोई”, यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गरिन् ।

नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उहाँले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताइन्।

मन्त्री अर्यालले भनिन्, “जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन ।”

पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै उनले केही रुपमा भएका कमजोरीमाथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताइन् । मन्त्री अर्यालले मालपोत, नापीमा भइरहेका बदमासी मन्त्रालयले प्रक्रियाबाटै अन्त्य गर्न लागिपरेको बताउँदै कर्मचारीलाई गाली गरेर मात्र होइन, पूर्णरुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेको बताइन् ।

डिजिटल सेवाको शुरुआत कलङ्कीबाट नमूना कार्यालय बनाउन शुरु गरिएको भन्दै उनले यसबाट राजश्वमा हुने चुहावट बन्द हुने, सुशासन कायम हुने र सबैलाई सहजरूपमा सेवा प्राप्त हुने बताइन् । मन्त्री अर्यालले अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने बताउँदै डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्