Logo

पुण्य कमाउने नाममा सुदूरमा बाल विवाह कायमै



Spread the love

९ बैशाख, डोटी ।

विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ ।

महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुने अर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको प्रचलन कायमै रहेको दिपायलका स्थानीय उत्तम द्धारीयाले बताए । उनले भने, “धर्म कमाउने नाममा बालविवाह हुँदैछ, बाल विवाहको अन्त हुनु जरुरी छ ।” यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा प्रायजसो ब्राह्मण, क्षत्री तथा दलित समुदायमा उमेर नपुग्दै छोरीको विवाह गरिदिने प्रचलन कायमै रहेको छ ।

कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफुखुशीअर्थात् कानुनी विवाह गर्ने हो भने २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भए पनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरिएको छैन ।

बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ, संस्था क्रियाशील भए पनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयवासीका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बाल विवाह हुने गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्