Logo

चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण



Spread the love

१२ वैशाख,काठमाडौ ।

भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाण्डौको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।

पाँचवटै सडक आयोजना पुनर्निर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिए ।

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनर्निर्माणका लागि एडीबीले सहयोग गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनर्निर्माण गर्ने उनले बताए ।

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पुर्‍याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनर्निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्