Logo

नेपालगञ्जमा जेब्रा क्रस र पार्किङ सम्बन्धि सचेतना



Spread the love

१६ बैशाख, नेपालगञ्ज – ट्राफिक प्रहरीले आइतबार बिहान नेपालगञ्जमा जेब्रा क्रसिङ र पार्किङको बारेमा जानकारी गराएको छ । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिवारदेखि ट्राफिक सप्ताह शुरु भएसँगै यी कार्यको शुरुवात गरेको हो । ट्राफिक प्रहरीले आइतबार बिहान नेपालगञ्जको धम्बोझी चोकमा मोटरसाइकल कसरी पार्किङ गर्ने भन्ने बारेमा सम्बन्धित सवारीधनीहरुलाई सम्झाई बुझाई गरेको छ ।

पार्किङस्थल निर्माण गरिसक्दा पनि आम नागरिकमा पार्किङ कसरी गर्ने भन्ने बारेमा अझै ज्ञान नभएको हुँदा यो कार्य गरिएको नेपालगञ्ज ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भिमराज ओलीले बताए । त्यस्तै सवारी चाप र बढीरहेको दुर्घटनालाई नियन्त्रण गर्न नेपालगञ्जमा ठाँउ ठाँउमा जेब्रा क्रसिङ समेत बनाइएको छ । तर पनि बटुवाहरुलाइ जेब्रा क्रसिङबाट कसरी सडक पार गर्ने भनेर नेपालगन्जको पुष्पलाल चोकमा सिकाइएको छ ।

नेपालगञ्ज बसपार्क ट्राफिक इकाईले आइतवार बिहान सयौं बटुवाहरुलाई कसरी सडक पार गर्ने र जेब्रा क्रसिङ भन्ने बारेमा जनचेतना दिएको प्रहरी सहायक निरीक्षक पदम शाहीले बताए । ट्राफिक सप्ताह शुरु भएसँगै आगामी शनिवारसम्म यस्ता कार्यलाई निरन्तरता दिने र सम्बन्धित सबैलाई सम्झाउने कार्यक्रम रहेकोब बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए ।

निरीक्षक रोकायाका अनुसार यो जनचेतना अभियानमा मोटरसाइकललाई मात्र नभई बस, जिप, ट्रकलगायत साइकल चालाउने र बटुवाहरुलाई समेत ट्राफिक चेतना दिने भएको छ । यो अभियान अन्तर्गत आइतवार साँझ नेपालगञ्जको बिपि चोकमा स्वारीधनीहरुलाई जानकारी दिने निरीक्षक रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्