Logo

कञ्चनपुरमा दोस्रो दिन पनि झडप : एसएसबीको २५ राउन्ड हवाई फायर, ५ राउन्ड अश्रुग्यास



Spread the love

kanchanpur

कञ्चनपुरको पुनर्बासमा शुक्रवार पनि झडप भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको बिहीबार मृत्यु भएपछि विरोध प्रदर्शनका क्रममा झडप भएको हो ।

कल्भर्ट निर्माणस्थलमा बिहानैदेखि दुवै देशका बासिन्दाले दोहोरो ढुंगामुढा गरेका थिए । स्थानीय हेमन्त न्यौपानेका अनुसार बिहानैदेखि घटनास्थल तनावग्रस्त थियो । सो क्षेत्रमा विरोध प्रदर्शन गर्न सयौँ सङ्ख्यामा नेपाली नागरिक पुगेका थिए । उनीहरूले भारतीय प्रहरीबाट ज्यादती भएको भन्दै नाराबाजी गरेका थिए । छिमेकी भएर भाईमाराको व्यवहार गरेको भन्दै प्रदर्शनकारीले भारतको विरोधमा नाराबाजी गरेका हुन् ।

दुवै देशका नागरिकबीच दोहोरो ढुङगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन एसएसबीले २५ राउन्ड हवाई फायर र पाँच सेल आश्रुग्याँस प्रहार गरेको थियो । भीड नियन्त्रण गर्न नेपाली सुरक्षाकर्मीबाट पनि पाँच सेल आशुँग्यास प्रहार गरेको थियो । झडपका क्रममा नेपालतर्फ ३५ जना समान्य घाइते भएको स्थानीयले बताएका छन् ।

साँझसम्म पनि प्रहरीले आक्रोसित प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकेको थिएन । तर,रात परेसँगै दुवै देशका नागरिक आ–आफ्नो घरतिर लागेपछि स्थिति समान्य बनेको थियो । तर, मृतकको उच्च सम्मान, दोषीलाई कार्बाही, भारतीय ज्यादती रोकिने विश्वास नभएसम्म आन्दोलन जारी राख्ने स्थानीयको चेतावनी छ ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भारतीय पक्षसँग गरेको तीन बुँदे मौखिक सहमति नेपालीको हित विपरीत भएको भन्दै प्रदर्शनकारी आक्रोशित भएको स्थानीय लाकेन्द्र लम्सालले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरे पनि राष्ट्रियता, मातृभूमिको लडाइँ भन्दै स्थानीयहरुले भारतीय प्रहरीको विरोधमा नारावाजी गरेका थिए । पूनर्वास घटनापछि सीमा क्षेत्रमा हुने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यता, माओवादी केन्द्र ७ नम्बर प्रदेशको बन्द आब्हानसंगै पुनर्बाससहित कञ्चनपुरका विभिन्न ठाउँमा स्थानीयले स्वतस्फूर्त प्रर्दशन गरेका छन् । सदरमुकाम महेन्द्रनगर, सीमावर्ती क्षेत्र बेल्डाँडी, बेलौरी र पुनर्वासको आईबिआरडी, झलारी, कृष्णपुरमा स्थानीय, दल तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । महेन्द्रनगरमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपानिकटका विद्यार्थी सङ्गठन प्रदर्शन गरेका थिए । महेन्द्रनगरमा विद्यार्थीले एक सरकारी मोटरसाइकल तोडफोडसमेत गरेका छन् ।

पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा प्रदर्शनकारीले भारतीय नागरिकका पसलमा तोडफोड गरेका छन् । स्थानीय लक्ष्मण कुमालका अनुुसार आक्रोशित भीडले १० भारतीय नागरिकका पसलमा समान्य तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर बनाएको थियो ।

‘सरकारको लिखित निर्णयपछि मात्र गौतमको पोस्टमार्टम’
एसएसबीले चलाएको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा र उनको परिवारलाई राहत स्वरूप १० लाख र आश्रित परिवारका सन्तानलाई पठन पाठन गराउने निर्णय गरेको छ । तर, आफन्त तथा परिवारले सरकारको निर्णय लिखितरुपमा पाएपछि मात्र गौतमको पोस्टमार्टम गर्ने बताएका छन् ।

मृतक गौतमका आफन्त रमेश थापाले सरकारको निर्णय कञ्चनपुर प्रशासनमार्फत परिवारको हातमा नपरेसम्म पोस्टमार्टम नगरिने बताए । ‘जबसम्म मन्त्रीपरिषद्को निर्णय लिखितरुपमा जिल्ला प्रशासनले पीडित परिवारको घरमा पु¥याउदैन, तबसम्म न लास उठ्छ न त हामी बुझ्छौँ’, थापाले भने, ‘सरकारको निर्णयलाई पीडितको दैलोमा पुर्या‍उने जिम्मा स्थानीय प्रशासनबाट हुनुपर्छ ।’ यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्