Logo

अनाथ बालबालिकाका सारथी समाजसेवी थापा



Spread the love

२२ वैशाख, दोलखा – असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् ।
जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग, मिठाइ र खानेकुरा बाँडेका हुन् ।

थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताए । विष्टले भने, “अघिल्लो वर्ष थापाले ओच्छ्याउने तन्नाका साथै दुई वर्षअघि स्टेशनरी सामग्री सहयोग गर्नुभएको थियो ।” बालगृहका प्रमुख विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गरेका छन् ।

थापाको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर आई अनाथलाई सहयोग गर्ने गरेको विष्टले बताए । चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवेयरलगायतका व्यवसायमा संलग्न छन् । उनि दोलखा उद्योग वाणिज्य सङ्घका वरिष्ठ सदस्य हुन् ।

नेपाल बाल सङ्गठनद्वारा सञ्चालित यो बालगृह सङ्गठनकै बजेटबाट चल्ने गरेको छ । यस्तै बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्