Logo

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा



Spread the love

२३ वैशाख, बागलुङ ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।

पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।

बलेवा विमानस्थलदेखि गुल्मीको सीमा पालुङखोला जोड्ने २८ किमि सडक दोस्रो चरणमा चौडा पार्ने योजना कार्यदलको छ । थप बजेट ल्याउन पहल भइरहेको बागलुङ क्षेत्र नं. १ का सासंद डा. सूर्य पाठकले बताए ।

सडक कालोपत्र भएपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल नियमित सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । करिडोरको ८० किमि बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई छ । सेनाले करिडोरको यस खण्डमा दुई वर्षअघि मार्ग खोलेको थियो ।

पर्यटन, व्यापार, र पारवहन दृष्टिले समेत महत्वपूर्ण यस करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्