Logo

डोटीमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिदै



Spread the love

२३ वैशाख ,डोटी । डोटी जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न शुरु गरेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ नगरपालिकाले आफ्नो नगरमा भएका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र दिन शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताए । उनले भने , “हामीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य, नगर बसलगायतका अन्य सेवा दिने निर्णय गरेका छौँ, सोही अनुरुप सबैलाई पायक पर्ने ठाउँमै गएर परिचयपत्र वितरण गर्न थालेका हौँ ।”

जोशीले शिखर नगरपालिका–६ सेरा बस्ने १४ वर्षीय विनोद बोहरालाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

नगरपालिकामा आएर परिचयपत्र लिन नसक्ने अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा गएर परिचयपत्र दिने व्यवस्था मिलाइएको छ । घरैमा अपाङ्गता परिचयपत्र पाउन थालेपछि अहिले यहाँका अपाङ्गता भएका व्यक्ति निकै खुसी भएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले बताए ।

उक्त नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम शिखर नगरपालिका र महिला बालबालिका एकाइको आयोजनामा सञ्चालन गरेको हो ।

(रासस ) 

प्रतिक्रिया दिनुहोस्