Logo

अझै ओझेलमा मादले गुफा



Spread the love

२४ वैशाख, पाल्पा – पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका– २ जल्पाको मादले गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्यवरणीय हिसाबले महत्वपूर्ण रहेको यस गुफा अध्ययन तथा अनुसन्धानका लागि पर्यटक त्यहाँ घुमफिर गर्न रुचाउँछन् । गुफाभित्रको ढुङ्गा हातले बजाउँदा मादलजस्तै बज्न थालेपछि गुफाको नाम मादले गुफा राखिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय सरकार र स्थानीय बासिन्दाले मादले गुफा संरक्षणमा चासो नदिँदा ओझेलमा परेको हो । करीब दुई वर्षअघि असोजमा हलगोरु जमीनमा भाँसिएर गुफामा खसेपछि गुफा भेटिएको हो । बारी जोतेर हलगोरु हलोजुवासहित गुफाभित्र खसेपछि स्थानीय बासिन्दाले जमीन फोरेर निकाल्दा गुफा फेला पारेको स्थानीय बासिन्दा डोलराज विश्वकर्माले बताए । गुफा आसपासको क्षेत्रमा भौतिक पूर्वाधार विकास हुन नसक्दा झनै समस्या देखिएको छ ।

गुफासम्म अझै पदमार्ग नहुँदा आन्तरिक पर्यटकका लागि समस्या खेप्दै पुग्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । हरेक किसिमका देवीदेवताका आकृति, ढुङ्गाको मादलले आन्तरिक पर्यटकका लागि मन लोभ्याउन सफल भएको छ । गाईका स्तन, नाग, गरुड, मृग, हात्ती, आमाको दूधलगायतका अनौठा आकृति गुफामा देख्न पाइने भएपछि आन्तरिक पर्यटक त्यहाँ पुगेर आनन्द लिन लोभिएका हुन् । गुफा संरक्षणका लागि स्थानीय बासिन्दाको नेतृत्वमा समिति गठन गरिएको छ । समितिले गुफा प्रवेश गर्नेबाट प्रतिव्यक्ति रु ५० प्रवेश शुल्क लिने गरेको छ ।

बालबालिका गुफा गएर हराउने सम्भावना बढेपछि प्रवेशद्वार निर्माण गरिएको छ । प्रवेशद्वार पर्यटक आएपछि मात्र समितिले खोल्ने काम गर्छन् । समितिका सचिव तथा स्थानीय बासिन्दा दामोदर अधिकारीका अनुसार गुफामा देवीदेवताका आकृति रहेकाले सुन्दर छ । गुफाभित्र चमेराका बासस्थान रहेको पाइन्छ ।

गुफाभित्र प्रवेश गरेपछि एउटा पूर्वतर्फ गुफा फैलिएको छ । अर्को दक्षिणतर्फ फैलिएको पाइन्छ । दक्षिणतर्फ जति भित्र गयो त्यति नै साँघुरो बाटो छ । शरीर पातलो भएका मानिस गुफाको सतहभन्दा तल झरेर ढुङ्गालाई हान्छन्, ढुङ्गा मादलजस्तै गरी बज्छ । मानिस त्यहाँसम्म निहुरे जानुपर्ने बाध्यता रहेको अधिकारीको भनाइ छ ।

गुफाको भित्री भागमा प्रवेश गरी तल्लो भागमा मैदान रहेको अन्दाज गरिन्छ । स्थानीयवासी बुढापाकाले बालबालिका खेलमैदानमा गएको र ठूलो मैदान रहेको बताउने अधिकारीको भनाइ छ । ठूला मानिस सो मैदान पुग्न सक्ने स्थिति छैन । साना स्कूले बालबालिका मैदानमा गएर खेल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्