Logo

भरतपुर गोल्डकप शुरु



Spread the love

२४ बैशाख, काठमाडाैँ – सिएमएस भरतपुर गोल्डकप–२०७६ आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद क्षेत्रको विकासका लागि सरकार योजनाबद्ध तवरले अघि बढेको बताए । उनले केन्द्रीय सरकार र प्रदेश सरकार दुवैले खेल क्षेत्रको विकास र खेलाडीको आत्मबल बढाउने गरी काम गर्ने योजना बनाएको जानकारी गराए । अबको युग खेलकूद क्षेत्रका लागि स्वर्णिम युग हुने उनको भनाइ थियो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले खेल क्षेत्रको विकासले मात्रै राष्ट्रको पहिचान रहने बताए । प्रतियोगिता आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । ट्राई बेकरका आधारमा खेलाइने प्रतियोगिताअन्तर्गत हरेक दिन एउटा खेल मात्रै हुनेछ । ए जे इन्टरनेशनल प्रालिको आयोजनामा हुन लागेको सो प्रतियोगितामा राष्ट्रियस्तरका क्लबदेखि स्थानीय क्लबसम्मले सहभागिता जनाउनेछन् । त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, थ्रीस्टार, च्यासल युथ, सङ्कटा, जावलाखेल, विजय युथ हेटौँडा, चितवन ११, वीरगञ्ज युथ एकेडेमी, नुवाकोट ११ र झापा ११ ले प्रतियोगितामा सहभागि भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ६ लाखसहित गोल्डकप र द्वितीय हुनेलाई रु तीन लाख नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले बताए । प्रतियोगितामा चार विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ४० हजार र प्रत्येक प्रतियोगिताको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिने भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्