Logo

यादव हिँडिसकेपछि अन्य नेताले मोर्चालाई एउटै दल बनाउनुपर्ने भने



Spread the love

morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष भएको  खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

– सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ ।’
– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफू विनासर्त पार्टी एकता गर्न तयार रहेको बताए ।
– तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सबै मधेसवादी दल एक बनाउन आफू अग्रसर रहेको बताएका थिए । मधेसवादी दलहरू एक भएको दिन मधेसी समुदायको आधा माग पूरा हुने उनको भनाइ छ ।
– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको भन्दै एकताको विपक्षमा जान नहुने बताए । उनले भने, ‘गजेन्द्रनारायण सिंहले मधेसमा एउटा पार्टी मात्रै बनाउनुभएको थियो, किन अरू पार्टी जन्मिए ?’ उनले भने, ‘जे–जस्तो भए पनि अब पार्टी एकताका लागि म तयार छु ।’
– मधेसवादी दलहरूबीच एकताको प्रसङ्ग उठ्दा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने हिँडिसकेका थिए ।
– मोर्चाको संयोजकसमेत रहेका उनले सुरुमै सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गले मधेसलाई अधिकार नदिइए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका थिए । उनले बल सरकारको कोर्टमा रहेको भन्दै जबर्जस्ती चुनाव गराउन खोजिए राज्यका लागि घातक हुने बताए ।

‘संशोधनविना हुने निर्वाचनमा चासो छैन’
—मधेसी मोर्चाका नेताहरूले चुनावमा आफूहरूलाई चासो नभएको बताएका छन् । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पहिले हामीले अधिकार लिनुपर्छ, त्यसपछि चुनाव त छँदै छ ।’

—तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनविना चुनाव सम्भव नरहेको बताए । ‘संशोधनको विषयमा सरकारमा रहेका तीन दल र प्रमुख प्रतिपक्षी एमालेको भनाइ एकै किसिमको छैन । चार दलको चार लाइन छ,’ उनले भने, ‘संशोधनविना चुनाव सम्भव छैन ।’ सरकारले स्थानीय तहको चुनाव अवैधानिक ढङ्गले गर्न थालेको पनि ठाकुरले दाबी गरे । उनले भने, ‘अहिलेसम्म स्थानीय तहको सङ्ख्या निर्धारण हुन सकेको छैन, आयोगले निष्पक्ष ढङ्गले काम गरेन, अहिले सरकारले जनसङ्ख्याको आधारमा सङ्ख्या बढाउने भनिरहेको छ, तर हामी संशोधनविना चुनावमा जान सक्दैनौँ ।’

—सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई चुनावबाट बाहिर राखेर सम्भव नहुने बताए । ‘मधेसविना नै चुनाव गराउँछु भन्नु वाहियात हो,’ उनले भने, ‘चुनाव त के, मधेसविना देश नै चल्दैन ।’ उनले अबको आन्दोलन कष्टकारी नहुने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्