Logo

विद्यार्थीको रहस्यमय मृत्यु, पाँच दिनपछि सार्वजनिक : आफन्त भन्छन्,”मृत्यु होइन, हत्या हो”



Spread the love

clisahqvyaazxnz

राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य पाँच दिनपछि खुले छ । गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले आत्महत्या वा भवितव्य मृत्यु भएको आशंका गरेको छ । रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको सोह्रखुट्टेमा बस्दै आएका थिए । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

पाँच दिनपछि घटना सार्वजनिक : साथीको डेरामा गएका चौहान नजिकै रहेको पानीट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् । चौहानको मृत्यु भएको पाँच दिनपछि घटना बाहिर आएको हो । उनको १५ चैतमै मृत्यु भएको र शव १७ गते फेला परेको प्रहरीले जनाएको छ हो । आइतबार शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिएको र रिपोर्ट आएपछि मात्रै घटनाको सत्यतथ्य विवरण आउने महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद चिमोरियाले घटना शंकास्पद रहेको भन्दै तत्काल केही भन्न नसकिने जानकारी दिए ।

मृत्यु होइन, हत्या हो : आफन्तजन : चौहानका आफन्तले उनको हत्या नै भएको दाबी गरेका छन् । ‘पानीट्यांकीबाट शव फेला पर्दा पनि शरीर फुलेको छैन,’ घटनास्थल पुगेकी चौहानकी फुपू लक्ष्मी थापाले भनिन्, ‘शव नफुलेकाले भाइको हत्या नै भएको देखिन्छ ।’ अनुहारमा निलडाम देखिएकाले पनि हत्या नै गरिएको उनको भनाइ छ ।

चौहानका साथी अमित तामाङका अनुसार परीक्षा सकिएपछि मङ्गलवार राति उनी चन्द्रबहादुर थापाको डेरा गएका थिए । परीक्षा सकिएको खुसीयालीमा आयोजित पार्टीमा अन्य ११ जना पनि सहभागी रहेको उनले बताए । ‘त्यसको भोलिपल्ट मैले फोन गरेँ, तर उसको फोन स्विच अफ थियो,’ अमितले भने, ‘अर्का साथी सचिनले सुरज कहाँ गयो भनेर फेसबुकमा म्यासेज गरेपछि हामी सबै जना चिन्तित भएर प्रहरीलाई जानकारी गरायौैँ ।’ उनी सम्पर्कविहीन भएपछि आफन्तजनले प्रहरीमा खबर गरेको थियो । दुई दिनपछि प्रहरीले पानीट्याकीभित्रबाट शव फेला पारेको हो । थापाको डेराबाट पानीट्यांकी हिँडेर करिब पाँच मिनेटको दूरीमा छ ।

प्रहरीले बेवास्ता गरेको आरोप : सुरजको मृत्यु घटनामा प्रहरीले बेवास्ता गरिरहेको आफन्तजनहरूको गुनासो छ । प्रहरीमा किटानी जाहेरी दिए पनि दोषीहरू पक्राउ पर्न सकेका छैनन् । ‘प्रहरीमा हत्यामा संलग्न रहेका व्यक्तिको नामसहित कारबाहीका लागि जाहेरी दिए पनि प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उल्टै हामीलाई हतोत्साही गर्ने गरेको छ,’ मृतक सुरजका दाजु सरोजले भने, ‘भाइको मृत्यु भएको पा“च दिन बितिसक्यो, तर अहिलेसम्म किटानी जाहेरी दिएकामध्ये कसैलाई पनि प्रहरीले पक्रेको छैन, प्रहरीले निष्पक्ष अनुसन्धान नगर्दा अन्यायमा परेका छौँ ।’ बानेश्वर प्रहरी वृत्तका डिएसपी चिमोरियाले प्रहरीले घटनाको तथ्य प्रमाण सङ्कलन गरिरहेको बताए । प्रहरीले पीडित पक्षको जाहेरीका आधारमा कानुनी प्रक्रिया र ज्यानसम्बन्धी अनुसन्धान प्रक्रियासमेत अगाडि बढाइसकेको उनको भनाइ छ ।

गाली गरेपछि विद्यार्थीद्वारा आत्महत्या : काठमाडौँ/ प्रहरी स्कुलमा एक विद्यार्थीले हाम फालेर आत्महत्या गरेका छन् । गत बुधवार आठ कक्षामा अध्ययनरत विद्यार्थी कुन्दन थापामगरले सामाखुसीस्थित प्रहरी स्कुलमै आत्महत्या गरेका हुन् । स्कुलको लापरबाहीले उनको ज्यान गएको भन्दै मृतकका आफन्तले स्कुल व्यवस्थापनमाथि कारबाहीको माग गरेका छन् । प्रहरी स्कुलमै पढ्ने एक छात्राको नाममा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटो पोस्ट गरेको आरोपमा विद्यालयले उनलाई बुधवार स्कुल बोलाएको थियो । परीक्षा सकिएकाले थापा बिदामा थिए । स्कुलकी कमान्डेन्ट इन्स्पेक्टर शर्मिला गुरुङले किन त्यस्तो गरेको भनेर उनीस“ग सोधपुछ गरेकी थिइन् । त्यसको केही समयपछि स्कुलकै तेस्रो तलाको बरन्डाबाट उनले हाम फालेका थिए । उपचारका लागि प्रहरी अस्पताल पु¥याइएकोमा उनको मृत्यु भएको हो ।

आठ कक्षाको परीक्षा सकिएकाले सबै विद्यार्थी बिदामा थिए । सात कक्षामा अध्ययनरत अवकाशप्राप्त एक प्रहरीकी छोरीलाई उनी मन पराउँथे । तर, सम्बन्ध राम्रो नभएपछि उनले नक्कली फेसबुक आइडी बनाएको दाबी गरेका थिए । छात्राको परिवारले मगरविरुद्ध स्कुलमा उजुरी गरेपछि स्कुल व्यवस्थापनले घटनाको छानबिन थालेको थियो । तर, अभिभावकलाई खबर नगरी स्कुलले विद्यार्थीलाई मात्र बोलाएर हप्काउँदा उक्त घटना भएको मृतकका आफन्तहरूको आरोप छ । आफन्तजनले घटनाप्रति आशंका जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरीसमेत दिएका छन् । महानगरीय प्रहरी कार्यालयले घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्