Logo

दिनहुँ कामको खोजीमा १ हजार ५ सय युवा बिदेसिने नेपालमा जम्मा १० हजार जना मात्र बेरोजगार



Spread the love

2017_3image_09_31_474687231job-ll

हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजीका लागि बिदेसिने नेपालमा देशभर जम्मा १० हजार जना मात्र बेरोजगार रहेको सरकारी तथ्याङ्कले देखाएको छ । श्रम विभागले सङ्कलन गरेको बेरोजगारको पछिल्लो तथ्याङ्कअनुसार देशभर ९ हजार ८ सय ७३ जना मात्र बेरोजगार छन् । यो तथ्याङ्क आर्थिक वर्ष ०७३-७४ को ८ महिना अर्थात् फागुन मसान्तसम्मको तथ्याङ्कमा आधारित भएको खबर  आजको नयाँ पत्रिकामा छापिएको छ ।

विभागले आफूमातहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत सङ्कलन गर्दै आएको छ । जसअनुसार फागुन महिनामा मात्र २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क सङ्कलन भएको छ । माघमा १ हजार ५ सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए । गत आव ०७२-७३ मा देशभर ९ हजार ५ जना व्यक्तिले बेरोजगार लगत भरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

कसरी सुरु भयो बेरोजगारको लगत सङ्कलन
समृद्ध नेपाल निर्माण अभियानअन्तर्गत ०६५-६६ को बजेट वक्तव्यमार्फत मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगारको लगत तयार पार्ने नीति ल्याइएको थियो । त्यस समय श्रम विभागअन्तर्गत रहने गरी १४ स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी संस्थागत रूपमा लगत लिने कार्य प्रारम्भ भएको हो । जुन अहिले पनि निरन्तर जारी छ । सरकारले रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६९ जारी गरी नियमन गरिरहेको छ ।

के उद्देश्यले थालियो लगत सङ्कलन ?
निर्देशिकाअनुसार नेपालका विभिन्न औद्योगिक प्रतिष्ठान तथा रोजगारदातालाई उपलब्ध जनशक्तिसँग प्रत्यक्ष सम्पर्क स्थापित गराई रोजगार विनिमय सेवा प्रदान गर्ने उद्देश्यले बेरोजगारको लगत सङ्कलन थालिएको हो । विनिमय सेवाअन्तर्गत रोजगार सूचना केन्द्रले तयार गरेको बेरोजगारको सूचीबाट रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउने र रोजगारदाताको आवश्यकताका आधारमा बेरोजगार जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित गराउनु हो ।

कसरी सङ्कलन गरिन्छ लगत ?
१६ वर्ष पूरा गरेका बेरोजगार वा सेवा परिवर्तन गर्न चाहने नेपाली नागरिकले केन्द्रमा नाम दर्ता गराउन सक्छन् । त्यस वेला पूर्ण बेरोजगार, सेवा समाप्तिका कारण बेरोजगार, आंशिक बेरोजगार, सीप तथा योग्यता नमिलेका कारण सिर्जित बेरोजगार, प्रविधिमा आएको परिवर्तनका कारण बेरोजगारलगायत आधारमा लगत सङ्कलन गर्ने प्रावधान रहेको छ । अर्कोतर्फ रोजगारदाताले समेत आफूलाई चाहिने जनशक्तिको विवरण भरी केन्द्रमा पठाउने र सोहीमार्फत रोजगार विनिमय सेवा सञ्चालन गर्ने कानुनी प्रावधान छ ।

२ सय ९८ जनालाई रोजगारीको सिफारिस
विभागको तथ्याङ्कअनुसार बेरोजगार र रोजगारदाताबीच रोजगार विनिमय सेवाअन्तर्गत फागुन मसान्तसम्म कुल २ सय ९८ जना व्यक्तिलाई रोजगारीका लागि सिफारिस गरिएको छ । फागुनमा मात्र ३१ जनालाई रोजगारीका लागि सिफारिस गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्