Logo

वाग्मती तीर्थयात्रा सकियो



Spread the love

४ जेठ, काठमाडाैँ – यस वर्षको ऐतिहासिक वाग्मती तीर्थयात्रा पशुपति रुद्रगाडेश्वरमा विधिपूर्वक यज्ञ गरेर समापन गरिएको छ । शुक्ल षष्ठीका दिन गत वैशाख २७ गते पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा शुरु भएको थियो ।

तीर्थयात्री समूह कटुवालदहबाट सुन्दरीघाट, टेकु शङ्खमूल, पशुपति क्षेत्र, गोकर्णेश्वर, सुन्दरीजल, वाग्मतीको उद्गमस्थल, बूढानीलकण्ठ हुँदै साँखु बज्रयोगिनीबाट शुक्रबार बेलुकी पशुपति रुद्रगाडेश्वर आएर बास बसेको थियो । यसक्रममा १६५ तीर्थमा स्नान, पूजा र दर्शन गरिएको थियो । तीर्थयात्री बास बसेको स्थानमा विशेष यज्ञ गरिएको थियो । ‘ने’ मुनिले शुरु गरेको विश्वास गरिने वाग्मती तीर्थयात्रा वाग्मती प्रदूषित हुन थालेपछि २०४१ सालदेखि बन्द भएको थियो । कोषका सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा २०७५ सालदेखि तीर्थयात्रा पुनः शुरु भएको हो ।

तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वार सम्मका १६५ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्मसमेत गरिएको थियो । विसं २०४१ वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन यात्रा गरिन्थ्यो । गत वर्ष पुनः निरन्तरता दिँदा यसको अवधि साता दिन भयो । यस वर्ष नौ दिन गरिएकामा २०७७ सालमा बढाउने कोषले जनाएको छ ।

विसं २०४१ सम्म वाग्मती नदीभित्र पानीमै खाली गोडा यात्रा हुन्थ्यो । नदी स्वच्छ हुँदा कटुवालदहबाट वाग्द्वारसम्मका १६५ वटै तीर्थस्थलमा वाग्मतीकै जलले स्नान गरिन्थ्यो । हाल प्रदूषित पानी भए पनि हातमा छम्कँदै हिँड्न बाध्य हुनुपरेको पुजारी मदन भट्टले गुनासो गरे ।

तीर्थयात्राले वाग्द्वारकै जस्तो स्वच्छ पानी कटुवालदहबाट उपत्यका बाहिर पठाउने गरी जागरण अभियान फैल्याउने कोषको लक्ष्य छ । यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानलगायत सहायक नदीको सफाइ अभियानसँग सहकार्य गरिने पनि सदस्य सचिव ढकालले बताए ।

समापनका अवसरमा आज गोदान, शथ्यादानसमेत गरिएको थियो । गत वर्ष ३५ जनाले मात्र कटुवालदहबाट वाग्द्वार हुँदै पशुपतिसम्म यात्रा गरेकामा यस वर्ष १०८ जनाले गरेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्