Logo

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित



Spread the love

 

९ जेठ, हेटौँडा ।

प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।

यसैगरी बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफलको लागि प्रस्ताव राखेको थिए ।

उक्त विधेयकको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले देशका लागि मन, वचन, कर्मले योगदान दिने व्यक्ति वा संस्था र निजामती कर्मचारीलाई योगदानको आधारमा मापदण्ड बनाई विभूषण प्रदान गर्दा सबै देशवासीले सम्मान प्रकट गर्न लायक हुनुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

उनीहरुले विभूषण प्रदान गर्दा योगदान गरिएको भए पनि दलगत स्वार्थलाई हेरी वञ्चित गर्न नहुने र भ्रष्टाचारमा आरोपी, महिला हिंसा, जातीय छुवाछुत प्रथालाई प्रोत्साहन गर्ने व्यक्तिलाई विभूषण सिफारिस गर्न नहुने थप सुझाव राखेका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गर्ने एवं सबै नेपालीलाई साझारूपमा सम्मान गर्ने विचारबाट प्रेरित व्यक्ति वा समूहलाई योगदान गरेको आधारमा मापदण्ड बनाई निष्पक्ष एवं पारदर्शी ढङ्गबाट विभूषणको सिफारिस गर्ने र विभूषित हुने व्यक्तिलाई वादविवादबाट अलग राखी सम्मानजनक ढङ्गबाट व्यवहार गरिने विश्वास व्यक्त गरे।

प्रदेशसभाको बैठकमा आव २०७६÷७७ का लागि विनियोजित बजेटको सैद्धान्तिक र प्राथमिकता बारे पनि प्रदेशसभाका १७ सदस्यले आ–आफ्नो सुझावहरु प्रस्तुत गरेका थिए। उनीहरुले बजेटको विनियोजित शीर्षकमा आदिवासी जनजाति, दलितलाई उत्थान गर्ने प्याकेज कार्यक्रम ल्याई समेटिनुपर्ने र उच्च शिक्षा अध्ययन र स्वास्थ्य क्षेत्रमा समावेशी कोटाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । उनीहरुले उपेक्षित वर्गलाई पनि निजामती र परराष्ट्र सेवामा प्रवेश गर्न सहज वैकल्पिक बाटो अपनाउन र नीतिगत कार्यक्रममा समेटिन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्