Logo

नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु पर्दैन



Spread the love

९ जेठ, नेपालगञ्ज । नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षौंैदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो ।

“अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”, नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । हो, त्यही फोहर ल्याण्डफिल साइडमा पुगेपछि मोहरमा परिणत गर्ने उपमहानगरपालिकाको योजना छ । ल्याण्डफिल साइडमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डिसीले बताएका छन् ।

“तपार्इंहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर फोहरबाट मुक्त हुन्छ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भने , “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई साथ भने दिनुपर्छ ।”

एशियाली विकास बैंक, शहरी विकास आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लगानी रु ३९ करोडमा डेढ वर्षअघि सो ल्याण्डफिल्ड साइडको निर्माण शुरु गरिएको थियो । सम्झौताअनुसार ल्याण्डफिल साइडको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने , “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डष्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ । एक वर्षपछि ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।”

प्रतिक्रिया दिनुहोस्