Logo

उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुर्व्यसनी



Spread the love

१८ जेठ, नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुर्व्यसनी छन् । लागुऔषध दुर्व्यसनीविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुर्व्यसनी फेला परेको हुन् । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १६३ पुरुष र ३४ महिला लागुऔषधको दुर्व्यसनीमा रहेको जनाइएको छ ।

तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् । लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल सङ्ख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या भयावह देखिएको साहारा हाउस नेपालगञ्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । “लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ”, उनले भने, “यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको छ ।”लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले प्रारम्भिक तथ्याङ्कले आगामी दिनमा अन्सन्धानमा टेवा पुर्याउने बताए ।उनले भने, “एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ । लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।”

उक्त ब्यूरोकाअनुसार जिल्लामा चालू आवको १० महीनामा प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधिमा २९७ पक्राउ परेका छन् भने १९२ मुद्दा दर्ता भएका छन् । सो उपमहानगरपालिकाको सहयोगमा लागुऔषधविरुद्ध नेपालगञ्जमा क्रियाशील विभिन्न संस्थाले उक्त सर्वेक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्