Logo

‘बुद्धदर्शन र शान्ति’ प्रतियोगिता सम्पन्न



Spread the love

१८ जेठ, लुम्बिनी – लुम्बिनीमा बुद्धदर्शन र शान्ति विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको परीक्षा हलमा भएको उक्त प्रतियोगितमा प्रदेश नं ५ का प्यूठानबाहेक ११ जिल्लाका प्रतियोगी सहभागी भएको केन्द्राध्यक्ष फणिन्द्र न्यौपानेले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुखसमेत रहेका न्यौपानेका अनुसार प्रतियोगितामा ६५ जनाको सहभागिता रहेको थियो । उनले भने, “जसरी विश्वविद्यालयमा परीक्षा हुन्छ, त्यसैगरी प्रतियोगीले परीक्षा हलमा बसेर ‘बुद्धदर्शन र शान्ति’ विषयक निबन्ध लेख्नुभयो ।”

३ हजार शब्दको उक्त निबन्ध लेखन साढे दुई घण्टाको समयावधिमा सकिसक्नुपर्ने प्रावधान थियो । प्रतियोगीले आफूले स्थलगत रुपमा लेखेको निबन्धको उत्तरपुस्तिका बुझाएको र प्रतियोगीलाई प्रदेश नं ५ का पर्यटन, उद्योग, वन तथा वातवरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए ।

खुला निबन्ध लेखन प्रतियोगितासम्बन्धी सार्वजनिक सूचना एक महीना अगाडि नै सार्वजनिक गरिएको थियो । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्ने उद्देश्यले प्रदेश नं ५ सरकारको आयोजनामा भएको प्रदेशस्तरीय प्रतियोगिताको अन्तिम परिणाम मूल्याङ्कन समितिले आगामी असार २ गते सार्वजनिक गर्ने कार्यक्रम छ । प्रतियोगितामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार, तृतीय हुनेलाई रु १५ हजार र दुई जनालाई जनही रु पाँच हजारसहित सान्त्वना पुरस्कार दिने कार्यक्रम छ ।

बुद्ध र शान्तिको बारेमा बुझ्न यो निबन्ध लेखन प्रतियोगिताले भूमिका खेल्ने प्रदेश सरकारद्वारा गठित साहित्य तथा संस्कृति उपसमितिका संयोजक प्राध्यापक डा गीतु गिरीले बताए । उनले भने, “कार्यक्रम अत्यन्तै सफल भयो, यसले बुद्ध र शान्तिको विषयमा जान्ने मौका दिएको छ । प्रतियोगितामा विद्यालयलय तहका विद्यार्थीदेखि पेशागत हिसाबले माथिल्लो दर्जामा रहेका चिकित्सक, प्राध्यापकको पनि सहभागिता रह्यो ।” फूल मुन डे का दिन अर्थात् असार २ गते वितरण गरिने पुरस्कार समारोहअगावै मूल्याङ्कन समितिले प्रतियोगीहरुको मूल्याङ्कन गरिसक्ने प्रा डा गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्