Logo

बिर्तामोड गोल्डकप: पूर्वेली युथ क्लब सेमिफाइनलमा



Spread the love

२४ जेठ, झापा – बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको ३१ औँ मिनेटमा पुनः बुढाथोकीले अर्को गोल गर्दै पहिले हाफमा खेल २–० को स्थितिमा पुर्याए ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । खेलको १२ औँ मिनेटमा आशिष चापागाईंले उत्कृष्ट गोल गरे । ३–० को अग्रतालाई रोक्दै मुनालका तर्फबाट खेलको १४ औँ मिनेटमा श्याम मुर्मू ‘बी’ ले खेल ३–१ मा पु–याए । तर, पूर्वेलीका लागि ३१ औँ मिनेटमा विकेस लिम्बू र ४१ औँ मिनेटमा प्रविन गुरुङले गोल गरे । मुनालका लागि ३२ औँ मिनेटमा पेमा लामाले गोल गरेर दूरी घटाउने प्रयास गरे ।

खेलको म्यान अफ दी म्याच पूर्वेलीका आशिष चापागाई घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष राजकुमार बिकले नगद तीन हजार प्रदान गरे । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्