Logo

सचिव नहुँदा सेवाग्राही मर्कामा



Spread the love

२८ जेठ, तनहुँ ।
स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

तनहुँका दश स्थानीय तहका ८५ वडामध्ये ४२ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा कार्यालय सहयोगी र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

कर्मचारीको अभाव भएपछि भिमाद नगरपालिकाले कार्यालय सहयोगीलाई वडामा सचिव सरहको जिम्मेवारी दिएर खटाएको छ । बन्दीपुर गाउँपालिकाले पनि तत्कालीन गाविसका प्रशासन शाखाका सहायक र सामाजिक परिचालकलाई वडा सचिवका रुपमा खटाएको छ ।

घिरिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाको एउटा वडामा पनि सचिव छैनन् । अन्य स्थानीय तहका अधिकांश वडा सचिवविहीन छ । कर्मचारी अभावका कारण एउटै सचिवले तीन वटासम्म वडाको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता छ ।

दक्षिण भेगमा रहेको घिरिङ गाउँपालिकाका पाँच वटा वडामा एक जना पनि सचिव छैनन् । गाउँपालिका कार्यालयमा नै कार्यरत रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष रनबहादुर राना बताऊछन् ।

उनका अनुसार कर्मचारी अभावले प्रशासनिक कामसँगै विकास निर्माणको काममा प्रभाव परेको छ । उउनले भने , “कर्मचारी अभावले गाउँपालिकालाई त समस्या छ नै, सेवा लिन आउने सेवाग्राहीलाई झन बढी समस्या भइरहेको छ ।”

उनका अनुसार एकजना सचिवले धेरै वडा हेर्नुपर्ने भएपछि गाउँपालिकाको कार्यालयमा बसेर नै सेवा प्रवाह गर्नु परेको छ । उहाँले भन्नुभयो, “सिहंदरबारको अधिकार गाउँमा आयो भन्ने नारा त भयो, तर वास्तविकतामा त्यस्तो छैन ।”

बन्दीपुर गाउँपालिकामा ६ वटै वडामा सचिव छैनन् । काम प्रभावित नहोस् भनेर तत्कालीन गाविसका प्रशासन सहायक र सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

भानु नगरपालिकाको १३ वडामध्ये चार वडामा मात्रै सचिव छन् । तीमध्ये एक जना समायोजन भएर जाँदैछन् । बाँकी तीन जना सचिवले नै सबै वडाको कार्यसम्पादन गर्नु परेको नगरप्रमुख उदयराज गौली बताऊछन् । गौलीलेभने , “व्यक्तिगत घटना दर्ताका लागि वडामै पुग्नुपर्ने हुन्छ ।

जुन वडाबाट फोन आउँछ कर्मचारीहरु त्यही पुग्ने गरेको छ ।” उनले वडामा सम्पन्न भएका योजनामा भुक्तानीका लागि वडाको सिफारिश आवश्यक पर्ने भएकाले एक जनालाई धेरै वडाको कार्यभार सम्हाल्नु परेको बताए ।

रिसिङ गाउँपालिकाको ८ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार जनतालाई सास्ती नहोस् भनेर स्वास्थ्य शाखाको कर्मचारीलाई वडा सचिव बनाएर खटाइएको छ । कर्मचारी समायोजन भएर गएपछि यस्तो समस्या आएको उनको गुनासो छ ।

आँबुखैरेनी गाउँपालिकाको ६ वडामध्ये २ वडामा मात्रै सचिव छन् । बाँकी वडामा स्वास्थ्य, कृषि र गाउँपालिकाका पुराना कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा बताऊछन् । , “कर्मचारी उनले भने अभावमा जसोतसो व्यवस्थापन त गरेकै छौँ । तर वास्तविक रुपमा काम गर्न भने निकै अप्ठ्यारो भएको महसुस भएको छ ।”

देवघाट गाउँपालिकाको ५ वडामध्ये २ वडामा मात्रै सचिव छन् । ती दुई जना सचिवले नै भागबण्डा लगाएर सबै वडाको काम गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष विमला थापाले बताए । उनले भने , “हप्ता÷हप्तामा पालो मिलाएर वडामा सचिव खटाइएको छ । कर्मचारी अभावमा गाउँपालिकाले सम्पादन गर्ने काम प्रभावित भइरहेको छ ।”

भिमाद नगरपालिकाको ९ वडामध्ये ३ वडामा सचिव छन् । बाँकी वडामा कम्प्युटर चलाउन सक्ने कार्यालय सहयोगी राखेर काम चलाइएको नगरप्रमुख मेखबहादुर थापाले बताए । उनका अनुसार जसोतसो काम चले पनि कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो व्यास नगरपालिकामा भने १४ वडामा नै सचिव छन् । सङ्घ र प्रदेशमा समायोजन भएर कर्मचारी गए पनि स्थानीय तहका नासु र खरिदारलाई वडा सचिवको जिम्मेवारी दिएर खटाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले अहिलेसम्म सेवा प्रवाहमा कुनै समस्या नआएको बताएको छ ।

म्याग्दे गाउँपालिकाको ७ वडामध्ये ३ वडामा मात्रै सचिव छन् । अन्य वडामा गाउँपालिकाको कर्मचारीलाई खटाइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । केही समय अगाडिसम्म कार्यालय सहयोगी र सामाजिक परिचालकलाई सचिवको जिम्मेवारी दिएको शुक्लागण्डकी नगरपालिकामा भने कर्मचारी समायोजनसँगै सबै वडामा सचिवको पदपूर्ति भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्